सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

युग संवाददाता     121 पटक पढिएको    

सुदूरपश्चिममा प्रधानमन्त्रीसहित एक सय ४३ प्रतिनिधिसभा सदस्य उम्मेदवार

धनगढी / प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेशसभामा सबैभन्दा बढी उम्मेदवारी परेको छ । सुदूरपश्चिमका नौवटै जिल्लाका प्रतिनिधिसभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवासहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि स्वतन्त्रसम्म रहेका छन् । त्यसैगरी दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको ठूलो जिल्ला कैलालीमा पाँच प्रतिनिधिसभा सदस्यको सिटमा ४८ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीमा राष्ट्रिय राजनीतिमै परिचित अनुहार उम्मेदवारका रुपमा रहेका छन् । यहाँ पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव लेखकराज भट्ट, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश अध्यक्ष वीरबहादुर बलायरदेखि पूर्वमन्त्री एवं नेकपा एमालेका नेता नारदमुनी रानासम्म उम्मेदवार रहेका छन् ।

कैलालीका १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्रसम्म गरेर ९६ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । कैलालीमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभाका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी नेत्री एवं पूर्वमन्त्री विना मगर प्रतिनिधिसभाको उम्मेदवार छिन् ।

त्यसैगरी ‘हेविवेट’ तर्फ क्षेत्र नं.२ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउँद र निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक उम्मेदवार रहेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नं. १ मा सुदूरपश्चिम पूर्वमन्त्री तारा लामा, निर्वाचन क्षेत्र नं. २ मा एमाले नेता नरबहादुर धामी र निर्वाचन क्षेत्र नं. ३ मा नेत्री निरुदेवी पाल चुनावी मैदानमा छन् ।  त्यसैगरी छ वटा प्रदेशसभा सदस्यको सिट रहेको कञ्चनपुरमा ५५ जनाले उम्मेदवारी दिएका छन् । जसमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल, संविधानसभा सदस्य दिवान विष्ट उम्मेदवार रहेका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा एउटा प्रतिनिधिसभा सदस्यका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

दार्चुलामा सत्ता गठबन्धनबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार बनेका छन् । नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गणेशसिंह ठगुन्ना उम्मेदवार छन् । यसअघिका प्रत्यक्ष निर्वाचनमा ठगुन्नाले मन्त्री बडूलाई पराजित गरेका थिए । दुई प्रदेशसभा सदस्य रहेको दार्चुलामा प्रदेशका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । दुई प्रतिनिधिसभा सदस्यको सिट रहेको अछाममा श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

अछाममा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ चार सिटका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले उम्मेदवारी दिएका छन्। यस्तै बैतडीमा १२ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

एक मात्र प्रतिनिधिसभा सदस्य सिट रहेको बैतडीमा गठबन्धनका उम्मेदवार नरेन्द्र बहादुर कुँवर र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यहाँ पनि प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् । दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभातर्फ ११ जनाले उम्मेदवारी दिएका छन् ।

पुरानो सदरमुकाम रहेको डोटी जिल्लामा प्रतिनिधिसभा सदस्यमा छ जनाले उम्मेदवारी दिएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आले यहाँ सत्ता गठबन्धनका उम्मेदवारी दिएका छन् । यस्तै नेकपा एमालेबाट नेत्री गौरी ओली उम्मेदवारी दिएकी छन् । डोटीमा दुई प्रदेशसभा सिटका लागि सात उम्मेदवार छन् । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि प्रतिनिधिसभाको एक मात्रै सिट रहेको छ ।

बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । दुई वटा प्रदेशसभा सिटमा यहाँ नौ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । बाजुरामा राजनीतिक दलदेखि स्वतन्त्रले उम्मेदवारी दिएपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री कर्णबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बझाङ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १० प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका छन् ।

बझाङमा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी र नेकपा एमालेबाट युवा नेता ऐन महरलगायत उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख पाँच सय १४ रहेका छन् । कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ४० हजार दुई सय एक मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा ८९ हजार क सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । यहाँको अछाम जिल्लामा एक लाख ५८ हजार छ सय ५७ र बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २७ लाख ११ हजार दुई सय ५० रहेको छ । 



सोमबार २४, असोज २०७९ ०२:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.