कैलालीमा बाढी : सयौँ परिवार पुनः सडकमा

युग संवाददाता     120 पटक पढिएको    

कैलालीमा बाढी : सयौँ परिवार पुनः सडकमा

टीकापुर / कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ ।

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन । मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ ।

असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरु दसैँ आएसँगै घर फर्किएका थिए । घर फर्किएर दसैँको टीकासमेत राम्ररी लगाउन पाएनन । “दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो”, भजनीका रमा धामीले भने, “छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो ।

शुक्रबार फेरि सडकमा आएका छौँ ।” उनले बाढीका कारण आफूहरु बिचल्लीमा परेको गुनासो गरे । “बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो”, उनले भने, “हामी के खाने ? वस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।” बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो ।

कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ । कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो ।

पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ । कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो । भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरु कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएका बताए ।

उनले भजनीमा बाढीले तहसनहस गरेको बताए । असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन । फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन । निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ । पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताए ।

“खुल्ला खेतमा धान ढलिसकेको छ । पाकेको धान हावाले समेत ढल्न थालेको छ”, उनले भने, “वर्षा नरोकिए धान खेती रहन्न । मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ ।” किसानहरु वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन । “खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन”, किसान परमभक्त देवकोटाले भने, “पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो ।

अझै दुई/तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ ।” मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन बढी वर्षा हुनेछ । वर्षा निरन्तर रहेको र यहाँका नदीहरुमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ ।

यहाँका पालिकाहरुले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन । यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन ।



शनिबार २२, असोज २०७९ ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.