दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिए ७० हजार

युग संवाददाता     154 पटक पढिएको    

दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिए ७० हजार

कर्णाली / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दसैँ मनाउनका लागि झण्डै ७० हजार नागरिक बाहिरिएका छन् । असोज १० गतेदेखि आइतबारसम्म उक्त सङ्ख्यामा नागरिक प्रदेश राजधानीबाट बाहिरिएका हुन् ।

प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतको रेकर्ड अनुसार वीरेन्द्रनगरको सिटी बसपार्कबाट मात्रै ५० हजार नागरिक बाहिरिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार सुर्खेत बाङ्गेसिमल, गोठिकाँडा, सुब्बाकुना लगायतका चेक पोष्टबाट रेकर्ड लिइएको हो ।

जस अनुसार बाङ्गेसिमल र गोठिकाँडा हुँदै माथिल्लो कर्णालीका दैलेख, कालिकोट, जुम्ला, मुगु र अछाम जिल्ला जानेहरूको सङ्ख्या ४६ हजार छ । कर्णाली राजमार्ग हुँदै माथिल्लो कर्णाली जानेको सङ्ख्या सबैभन्दा धेरै रहेको देखिन्छ । यस्तै गोठिकाँडा हुँदै दैलेख र कर्णाली राजमार्ग हुँदै जानेहरूको सङ्ख्या १९ हजार रहेको कार्कीले  जानकारी दिए ।

यस्तै वीरेन्द्रनगरको सुब्बाकुना हुँदै जाजरकोट, सल्यान र रुकुम पश्चिमतर्फ बाहिरिनेको सङ्ख्या १४ हजार छ । साथै सुब्बाकुनाबाट कोहलपुरबाट पनि नागरिक बाहिरिएका छन् । साथै बसपार्कभन्दा बाहिरबाट सवारी साधन बुकिङ गरेर १० हजार बराबर नागरिक दसैँ मनाउन बाहिरिएको आकलन प्रहरीले गरेको छ । सोमबार र मंगलबार पनि वीरेन्द्रनगरबाट बाहिरिनेको सङ्ख्या उल्लेख्य हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रदेश ट्राफिक कार्यालयका डीएसपी भीम खड्काका अनुसार बबई नाकाबाट मात्रै झण्डै ४८ हजार नागरिक बाहिरिएका छन् भने ३५ हजार नागरिक कर्णालीमा भित्रिएका छन् । यो भनेको भारत लगायतका अन्य मुलुक र काठमाडौं लगायतका ठुला सहरबाट दसैँ मनाउन भित्रिनेको सङ्ख्या हो ।



सोमबार १७, असोज २०७९ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.