चुनावी तालमेल गर्न एमालेसँग छलफलमा जसपा

युग संवाददाता     164 पटक पढिएको    

चुनावी तालमेल गर्न एमालेसँग छलफलमा जसपा

काठमाडौं / ५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएपछि अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरे लगत्तै जसपाको नेतृत्व र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको बताउँछन् । ‘गठबन्धनमा कुरा नमिलेपछि जसपा एमालेसँग चुनावी तालमेल गर्न इच्छुक भएको हो । उसले पार्टीबाटै निर्णय गरेर हामीसँग तालमेल गर्न ढोका खोलेर संवादमा आएको छ ’, भट्टराईले भने, ‘प्रारम्भिक चरणमा दुई पार्टीका अध्यक्षबीच संवाद सुरु भइसकेको छ ।’

एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओली मङ्सिरमा हुने निर्वाचनमा लोसपाभन्दा पनि जसपासँग चुनावी तालमेल गर्न बढी इच्छुक छन् । त्यही भएर लोसपासँगको संवाद खासै अघि बढ्न नसकेको नेताहरू बताउँछन् । ओली निकट एक पदाधिकारी भन्छन्, ‘विगतको चुनावी परिणाम, संगठन र मतदाता हेर्दा लोसपा भन्दा जसपासँग तालमेल गर्नु एमालेका लागि लाभदायी देखिन्छ । त्यही भएर पनि अध्यक्षज्यू लोसपा भन्दा जसपासँगै तालमेल गर्न इच्छुक हुनुहुन्छ ।’

ती नेताका अनुसार जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न आउँदा दुईवटा सन्देश जानेछ । पहिलो एमाले गठबन्धन फुटाउन सफल भएको र दोस्रो मधेसमा जसपासँगको तालमेलले एमालेको दुई सिट भए पनि बढ्ने एमालेको निष्कर्ष छ । जसपाका नेता मनिष सुमन भने एमालेसँगको संवादबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

एमालेसँग चुनावी तालमेलका लागि संवाद सुरु भएको हो भन्ने रातोपाटीको प्रश्नमा सुमन भन्छन्, ‘म अहिले पनि गठबन्धनकै बैठकमा बालुवाटारमा छु, शीर्ष तहमा भएको भए मलाई जानकारी भएन ।’ तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।

‘दुवै अध्यक्षबीच एक चरणको कुरा भएको छ, पहिलो चरणको कुरा सकारात्मक भएको बुझिएको छ’, ती नेताले भने, ‘ओलीले पनि राजनीतिमा जुवा खेल्ने नै हो, तर भरपर्दो सहमति नहुँदासम्म चुनावी तालमेल यसैसँग हुन्छ भन्न सकिँदैन’, ती नेताको भनाइ छ ।

एमाले अध्यक्ष ओली गठबन्धनको भागबण्डा पर्खेर आफ्नो पार्टीका उम्मेदवारलाई टिकट दिन ढिलाइ गरिरहेका छन् । गठबन्धन भत्किए उनीहरूसँगको तालमेललाई समेत मध्यनजर गरेर उम्मेदवार तय गर्नुपर्ने र टिकट वितरण गर्नुपर्ने भएकाले ओली ‘पर्ख र हेर’को अवस्थामा रहेको एमालेका एक नेताको भनाइ छ ।

अध्यक्ष ओली आज सोमबार गृह जिल्ला झापा जाँदैछन् । उनी टिका लगाएरमात्रै काठमाडौँ फर्कने भएकाले टिकापछि मात्रै टिकट वितरण गर्ने बुझिएको छ । असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको समय तोकिएको छ । 



सोमबार १७, असोज २०७९ ०५:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.