कांग्रेस नेता पोखरेल भन्छन् – दुर्गा पौडेलका लागि भोट माग्दिन

युग संवाददाता     246 पटक पढिएको    

कांग्रेस नेता पोखरेल भन्छन् – दुर्गा पौडेलका लागि भोट माग्दिन

बुटवल / सत्ता गठबन्धनका दलहरूबीच प्युठानमा प्रतिनिधि सभा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको खबर सार्वजनिक भइरहेका छन् । यसै क्षेत्रमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले भने राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले गठबन्धनको पक्षमा भोट नमाग्ने घोषणा गरेका छन् ।

२०७४ को चुनावमा वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग आफू पराजित भएको स्मरण गर्दै पोखरेलले अहिले फेरि उनै पौडेल गठबन्धनको उम्मेदवार हुने चर्चाले आफू उम्मेदवार हुन पाउनेमा प्रश्न चिह्न खडा भएको उल्लेख गरेका छन् । ‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु,नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु,’ डा. पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अघिल्लो चुनावमा ६४ वटा वडा मध्ये ६३ वडामा पुगेको उल्लेख गर्दै पोखरेलले यसपटक पनि आफूलाई प्यूठानमा संघीय उम्मेदवार होस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको चाहना रहेको पोखरेलले लेखेका छन् । ‘शुभेच्छुकहरुको प्रस्तावप्रति पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु,’ उनले लेखेका छन् ।

स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् । पोखरेल पार्टीभित्र शेखर कोइराला पक्षका हुन् । कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट भएको अवस्थामा गठबन्धनलाई चुनाव जित्न कठीन हुने देखिन्छ ।

स्थानीय चुनावपछि एमालेले विभिन्न पार्टीबाट पाँच हजार जनालाई एमालेमा प्रवेश गराएको दाबी गरेको छ । प्युठानमा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका जिल्ला इन्चार्ज सूर्य थापालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।



शनिबार १५, असोज २०७९ ०५:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.