डेङ्गुको संक्रमण बढ्दो, नियन्त्रणको कार्य फितलो

युग संवाददाता     194 पटक पढिएको    

डेङ्गुको संक्रमण बढ्दो, नियन्त्रणको कार्य फितलो

धनगढी / धनगढी उपमहानगरपालिकामा डेङ्गु संक्रमितको संख्या १२४ पुगेको छ । यो पालिकाले डेङ्गु संक्रमणमा लम्कीचुहा नगरपालिकालाई उछिने पनि रोग नियन्त्रण तथा रोकथामका लागि काम भने धेरै भएको छैन ।

हालसम्म लामखुट्टेको लार्भा खोज र नष्ट अभियान तीन चोटी सञ्चालन भएको छ, त्यो पनि वार्षिक नियमित कार्यक्रम अनुसार ।‘महिला स्वास्थ्य स्वयम् सेविकामार्फत जनचेतना सम्बन्धी कार्यक्रम पनि भइरहेका छन्’, धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले भने,‘तीन चोटी लार्भा मार्ने कार्य भइसकेको छ । पानी पर्दैन भने, अब लार्भा नष्ट गरिरहनु आवश्यक छैन ।’ उनले नगर क्षेत्रमा फाटफुट रुपमा मान्छेमा डेङ्गुको संक्रमण भइरहेको उल्लेख गरे । ‘नियन्त्रणका लागि हामीले विभिन्न माध्यमबाट प्रचारप्रसार पनि गरिरहेका छौं’, शर्माले भने । 

त्यस्तै, भजनी नगरपालिकामा पनि पाँच जना डेङ्गुका बिरामी फेला परि सकेका छन् । तर, सो नगरपालिकाभित्र आमा समूह र महिला स्वास्थ्य स्वयम् सेविकामार्फत जनचेतना फैलाउने बाहेक अहिलेसम्म केही कार्य भएको छैन । लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने कार्य दसैंपछि सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । उनका अनुसार स्प्रेका लागि विषादी खरिद भइसकेको छ । तर, रकम कम भएकाले छर्कन सकिएको छैन । विषादी छर्कनका लागि मजदुरलाई दिने बजेट अपुग रहेको उनको भनाइ छ ।

कोरोना महामारी नियन्त्रणका लागि कैलालीका स्थानीय तह तातेर लागेका थिए । तर, महामारीकै रुप लिएको डेङ्गुको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी रुपमा काम गरिरहेका छैनन् । रोग रोकथाम तथा नियन्त्रणका लागि पालिकास्तरमा प्रभावकारी रुपमा काम नहुँदा डेङ्गुको बिरामीका सङ्ख्या बढ्दै गएको छ ।

यो वर्ष डेङ्गुले महामारीकै रुप लिए पनि स्थानीय तहहरुमा रोकथामको कार्य भने गतविगतजस्तै भइरहेको छ । कतिपय स्थानीय तहले डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज तथा नष्ट’ अभियान सञ्चालन गरेका छन् । कतिपय स्थानीय तहमा त्यो कार्य पनि सुरु हुन सकेको छैन । 

साउनमै डेङ्गुले महामारीको रुप लिएको लम्कीचुहा नगरपालिकामा पनि समुदायमा सचेतना फैलाउने, खोज तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ । हालसम्म ११३ जनामा डेङ्गु सङ्क्रमण भएको सो पालिकामा पहिलेकोभन्दा अहिले सङ्क्रमण कम रहेको स्वास्थ्य शाखा संयोजक जयन्ती बिसीले बताइन् ।

‘प्रत्येक वडामा सरसफाइ सम्बन्धी जचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । र, हरेक हप्ता एकचोटी सबै वडामा खोज र नष्ट अभियानसहित स्प्रे गर्ने कार्य भइरहेको छ’, उनले भनिन्,‘अहिले नयाँ बिरामी थपिनेक्रम पहिलेको जस्तो छैन ।’ 

प्रायः सबै स्थानीय तहमा महिला स्वास्थ्य स्वयम् सेविका र स्वास्थ्यकर्मीका लागि डेङ्गु रोकथाम तथा नियन्त्रणकाबारे अभिमुखीकरण भइसकेको छ । यद्यपि, गतिलो रुपमा काम भने भइरहेको छैन । घोडाघोडी नगरपालिकामा जनचेतनामूलक कार्यक्रम गर्ने कार्य भइरहे पनि स्प्रेको काम भने नभएको स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताए ।‘सर्च एण्ड डिस्ट्रोयको कार्य भएको छैन, तर, घोडाघोडी नगरपालिकामा एक स्थानबाट डेङ्गु परीक्षण भने भइरहेको छ’, उनले भने ।

जिल्लामा हालसम्म गोदावरी नगरपालिकामा २७, टीकापुर नगरपालिकामा ४०, भजनी नगरपालिकामा पाँच, गौरीगङ्गामा सात, घोडाघोडी नगरपालिकामा तीन डेङ्गुका बिरामी फेला परेका छन् । यस्तै, जोशीपुर गाउँपालिकामा छ, जानकीमा चार, बर्दगोरियामा ७२ र मोहन्याल गाउँपालिकामा तीनमा डेङ्गु पुष्टि भएको छ । कैलारी र चुरे गाउँपालिकामामात्रै डेङ्गुका बिरामी भेटिएका छैनन् ।

एडिस एजिप्टाई प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्ने गर्दछ । प्रयास भइरहे पनि डेङ्गु नियन्त्रणमा नआएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए । ‘स्थानीय र प्रदेश सरकार नतातेसम्म यो रोग नियन्त्रणमा आउन सक्दैन’, उनले भने,‘परीक्षण किट, जनशक्ति अभाव छ ।

सबैको सहकार्यमामात्रै रोग नियन्त्रण सम्भव छ ।’ डेङ्गु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैलाई हातेमालो गरेर अगाडि बढ्न जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कैलालीमा डेङ्गुका कारण हालसम्म दुई जनाको ज्यान गएको छ । 



शनिबार १५, असोज २०७९ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.