बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी

युग संवाददाता     160 पटक पढिएको    

बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी

काठमाडौं /  नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए ।

कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ । जित्न नसक्ने ठाउँमा दाबी गर्दा एमालेलाई फाइदा हुने कुरामा गठबन्धनका नेताहरु सजक पनि देखिएको उनले बताए । कांग्रेसले २० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा कम्तिमा १५ सिट लिने रणनीति बनाएको छ । एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने कांग्रेसको तयारी छ ।

कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । तर ०७४ मा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो । यता गठबन्धनमा भएको सहमति अनुसार बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ ३३ सिटमा कांग्रेसले १९ पाउने छ । बाँकी  १४ सिटमा माओवादीले ९, एकीकृत समाजवादीले ४ र जसपाले १ सिट पाउने गरी सहमति भएको छ ।



शुक्रबार १४, असोज २०७९ ०५:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.