सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् सुविधाका गाडी

युग संवाददाता     173 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् सुविधाका गाडी

धनगढी / सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिले सम्म एक जनाले मात्रै  सुविधाका लागि लिएको गाडी फिर्ता गरेर  नैतिकता देखाएका छन् ।

प्रदेशमा  सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा पाएका थिए । त्यसमध्ये एमाले प्रमुख सचेतक लीलाधर भट्टले मात्रै फिर्ता गरेका छन् । सभामुख र उपसभामुखको कार्यकाल भने बाँकी नै छ । त्यस्तै, ५२ सांसदले ल्यापटप सुविधा पाएकामा ६ जनाले मात्रै फिर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

ल्यापटप फिर्ता गर्नेमा भट्टसहित वीरमान चौधरी, महेशदत्त जोशी, हर्कबहादुर कुँवर, कृष्णराज सुवेदी र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा रहेको संसद् सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । 

सचिवालयका अनुसार सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले पनि गाडी फिर्ता नगरेका सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, माओवादी संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावल, कांग्रेस प्रमुख सचेतक अम्बिकुमारी थापा र एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गाकुमारी कामीले पनि गाडी फिर्ता गरेका छैनन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको कार्यकाल कहिलेसम्म मान्ने भन्ने यकिन नभएकाले सुविधा फिर्ता माग्न नसकिएको बताए ।   



सोमबार १०, असोज २०७९ ०७:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.