बर्सेनि कान्द्रा नदीको बाढीले भजनीका स्थानीयलाई सास्ती

युग संवाददाता     278 पटक पढिएको    

बर्सेनि कान्द्रा नदीको बाढीले भजनीका स्थानीयलाई सास्ती

कैलाली / कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ । “नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ”, बोहराले भने, “दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।”

भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुङ्गा सञ्चालनको ठेक्का दिएको छ । ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व सङ्कलन नदी ठेक्काबाट हुन्छ । नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ ।  हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुङ्गाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन् ।

नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताए । उनि डुङ्गा निःशुल्क चढ्न पाउनुपर्ने बताउँछन् । “सबैसँग पैसा हुँदैन” उनले भने । वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्छन् । उनले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको रु २० डुङ्गा सञ्चालकलाई तिर्छन् । “आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन” उनले भने, । पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक  नमूना विद्यालय छ । वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् ।

स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ । सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरीले बताए । “रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ”, उनले भने, । हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ । पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो । अझै पूरा हुनसकेको छैन । रु चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो ।

पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो । समयावधि पटक–पटक थप्ने गरिएको छ ।  हुलाकी राजमार्ग आयोजना धनगढीका  इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताए ।



शुक्रबार ०३, भदौ २०७९ १०:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal