समयमा उद्धार नहुँदा पासोमा परेको चितुवाको मृत्यु

युग संवाददाता     177 पटक पढिएको    

समयमा उद्धार नहुँदा पासोमा परेको चितुवाको मृत्यु

बैतडी / बैतडीमा पासोमा परेको चितुवाको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । जङ्गली बँदेलका लागि मकै बारीमा थापेको पासोमा चितुवा फसेको  थियो । समयमै उद्धार नहुँदा सो चितुवा मरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, बिनासौं गाउँमा मङ्गलबार विहान पासोमा फसेको चितुवाको दिउसो १ बजे मरेको थियो । 
पासोमा फसेको चितुवाको जीबितै उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बैतडी आउँदै गरेपनि चितुवाको जीवितै उद्धार गर्ने प्रयास असफल भएको  डिभिजन वन कार्यालय बैतडीका अधिकृत श्यामसुन्दर माझीले बताए । 
उनले भने,‘मकै बारीमा बँदेलका लागि थापेको पासोमा चितुवाको पछाडितर्फको भाग फसेको थियो । पासोमा परेको चितुवा आत्तिदा फलामको तारले पेट काटिएको छ । अत्यधिक रगत बगेपछि उद्धार गर्ने प्रयास गर्दागर्दै चितुवाको ज्यान गयो । प्राविधिक टोली नहुँदा समयमै जीबितै उद्धार गर्न सकिएन ।’ 
पासोमा परेर बैतडीमा हालसम्म ११ वटा चितुवा मरिसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनका अनुसार बैतडीमा चितुवाको आक्रमणमा परेर २७ जना मानिसको मृत्यु भइसकेको छ । 
पासोमा परेको चितुवाको उद्धार गर्न पनि बर्दिया र चितवनलाई गुहार्नु पर्ने अवस्था रहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।
 



बुधबार ०१, भदौ २०७९ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.