कैलालीको लम्कीमा डेंगुको संक्रमण फैलियो

युग संवाददाता     194 पटक पढिएको    

कैलालीको लम्कीमा डेंगुको संक्रमण फैलियो

धनगढी / कैलालीको लम्की–चुहा नगरपालिकामा डेंगुको संक्रमण फैलिएको छ । साउन महिनाभरि लम्कीमा २५ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । लम्की–चुहा अस्पतालका अनुसार संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

उपचारका लागि आएका अत्यधिक ज्वरो आउने, वान्ता हुने, टाउको र शरीरका मांशपेशी दुख्नेजस्ता लक्षण भएका बिरामीलाई परिक्षण गर्दा डेंगु देखिएको अस्पतालले जनाएको छ । लम्की–चुहा अस्पतालका प्रमुख गंगाराम उपाध्यायले नगरपालिकाको वडा नम्बर ३ को चिसापानी र व्यवस्थित नगरमा डेंगुका बिरामीले बढी देखिएका जानकारी दिए । लक्षणका आधारमा उपचार गरेर बिरामीलाई पठाउने गरिएको उनले बताएका छन् ।

लामखुट्टको टोकाइबाट सर्ने डेंगुको संक्रमण फैलिए पनि लामखुट्टे मार्न विषादी छर्कने, उनीहरुको लार्भा र बासस्थान नष्ट गर्नेजस्ता कार्य हुन नसकेको स्थानीयले बताएका छन् । ‘एकै ठाउँमा २५ जना बिरामी देखिनु भनेको प्रकोपनै हो ।’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘लामखुट्टे मार्न विषादी छर्कने, बासस्थान र लामखुट्टे जन्मने क्षेत्र नष्ट गर्ने अभियान चलाउन नगरपालिकालाई आग्रह गरेका छौँ ।’

गत वर्षमात्रै लम्की–चुहा नगरपालिकामा ५२ जनामा डेंगुको संक्रमण देखिएको धामीले बताए । अन्य पालिकाहरुलाई पनि डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । लम्कीमा भने अहिले प्रकोप नियन्त्रणमा आएको कार्यालयको दावी छ ।

डेंगुको संक्रमण बढेका बेला यहाँ डेंगु परिक्षण गर्ने किट पनि पर्याप्त नरहेको पालिकाहरुले बताएका छन् । ‘किटको अभाव थियो । आजमात्र ६० वटा जति किट आएको छ ।’ लम्की–चुहा अस्पतालका प्रमुख उपाध्यायले भने, ‘प्रदेश सरकारले थप पाँच सय किट दिने भनेको छ ।’ डेंगु नियन्त्रणका लागि लामखुट्टे बस्न नदिन घर वरिपरिको सरसफाइ र लामखुट्टेको लार्भा नष्ट अभियान महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार एडिज अजिप्टाइ प्रजातिको पोथी लामखुट्टले टोक्दा यो रोग मानिसमा सर्ने गर्दछ । यस्तो लामखुट्टले दिउँसो टोक्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । लामखुट्टले जमेको सफा पानीमा लार्भा पार्ने भएकाले घर वरिपरी पानी जम्न नदिने, झारपात हुन नदिने र लामखुट्टेको टोकाइबाट बच्नुपर्ने उनको सुझाव छ । डेंगुका बिरामीमा सुरुमा सामान्य ज्वरो आउने, मांशपेशी, जोर्नी र शरीर दुख्ने, रिंगटा लाग्ने, टाउको दुख्ने, आलस्य हुने, वान्ता आउनेजस्ता लक्षणहरु देखिने स्वास्थ्यकर्मी बताउँछन् । 



मङ्गलबार ३१, साउन २०७९ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.