लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने

युग संवाददाता     170 पटक पढिएको    

लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने

धनगढी / विपत् तथा आपतकालीन अवस्थामा हुने लैङ्गिक हिंसा रोक्ने योजना बनाउनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।  
सोमबार धनगढीमा तारांगिनी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । पालिकाहरुले त्यस खालको योजना बनाउँदा विज्ञको राय लिनु पर्ने उनीहरुको ठहर छ । यसैगरी, यसको क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसंग पनि समन्वय र सहकार्य गर्नु पर्ने बताएका छन् । 
राष्ट्रिय मानव अधिकार आयोगका मोहनराज जोशीले विकासलाई एकांकी बनाएका कारण लैङ्गिक हिंसा बढेको औंल्याए । उनले पालिकाहरुले मानवअधिकारमुखी योजना बनाउनु पर्नेमा जोड दिए । 
लैङ्गिक हिंसाविरुद्ध थुप्रै कानून रहे पनि कार्यान्वन पक्ष फितलो रहेको सहभागीको भनाइ थियो । उनीहरुले भएका कानूनलाई एकदम कडाइका साथ कार्यान्वयन गरेमा धेरै हद्सम्म लैङ्गिक हिंसा रोकिने उल्लेख गरे । भएका कानून कार्यान्वयन नहुने कारणले समस्या भइरहेको महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीका अम्बिका भण्डारीले बताइन् ।  
‘त्यसैले अब स्थानीय तहहरुले कुलानाला, सडकभन्दा पनि बढी प्राथमिकता महिला संवेदनशीलतालाई दिनु पर्दछ’, उनले भनिन् । 
विषय विज्ञहरुसंग सल्लाह नलिएर योजना बनाइने गरेका कारण दीगो र सफल नहुने गरेको इन्सेक सुदूरपश्चिमका संयोजक खडकराज जोशीको भनाइ छ । ‘सरकारमा एक खालको दम्भ देखिन्छ, जसको कारणले सहकार्य र समन्वय हुँदैन’, उनले भनिन्,‘खास गरेर योजना, अनुगमन र मूल्याङ्कन नहुँदा समस्या देखिएको छ ।’ 
लैङ्गिक हिंसा रोक्नका लागि संयुक्त रुपमा काम नभएको कतिपयको भनाइ छ । आ–आफ्नै तरिकाले काम गर्ने परिपाटीका कारण समस्या भइरहेको बार एशोसिएसन कैलालीका सचिव प्रेमबहादुर शाहीले बताए । ‘समन्वयको कुरा निकै समस्याको रुपमा देखिएको छ’, उनले भने । हरेक पालिकामा लैङ्गिक संवेदनशील नीति हुनु पर्ने शाहीको जोड थियो ।

लैङ्गिक संवेदनशीलताको कुरालाई साझेदार सङ्घसंस्थाले जोडतोडका साथ उठाउँदै आए पनि सरकारका निकायहरुले प्राथमिकता नदिने गरेको पनि बताइएको छ । तात्नु पर्ने निकाय नतातेकै कारण समस्या भइरहेको फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले बताए । ‘विपद् व्यवस्थापन एकांकी जस्तो भएको छ’, उनले भने,‘अब हामीले हाम्रो संस्कार, संस्कृतिलाई विश्लेषण गरेर योजना बनाउनु पर्दछ ।’ 
विपद् व्यवस्थापनको हकमा थुप्रै ऐनकानून र नीति नियम बनि सकेका छन् । समस्या ऐन, कानून र नीति नियममा नभइ कार्यान्वयनमा रहेको रेडक्रस कैलालीका मन्त्री लोकराज जोशीको भनाइ छ । उनले ऐनकानून कार्यान्वयन हुन नसक्नुको खाडल पत्ता लगाएर सोही अनुसार योजना बनाएर अगाडि बढ्नु पर्ने औंल्याए ।  
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना थारुले स्थानीय तहमा विपद् व्यवस्थापन समिति बनेको र सबैलाई समेट्ने कार्य भएको बताइन् । उनले विपत्को बेला हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरिन् । 
यसैगरी, जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेनु कठरियाले जोशीपुरमा स्थानीय विपद् व्यवस्थापन समिति बनाउने क्रममा रहेको बताइन् । उनले पालिका र वडा स्तरीय समितिमा महिलाको सहभागिता रहेको उल्लेख गरिन् । कार्यक्रमको सहजिकरण डा. रेणु अधिकारीले गरेकी थिइन् ।  



सोमबार ३०, साउन २०७९ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.