दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा

युग संवाददाता     286 पटक पढिएको    

दोस्रो संस्करणको पिपीएल क्रिकेट असोजमा

बैतडी / दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने जानकारी गराएको हो ।

प्रतियोगितामा विजेता टिमलाई रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरुस्कारस्वरूप रु ११ हजार एक सय ११ नगतसहित प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।

बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई जनही पाँच हजार पाँच सय ५५ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदीयमान खेलाडीलाई एक हजार एक सय ११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन भदौ ३० गतेसम्म टिम दर्ता गर्नुपर्ने छ । टिम दर्ताका लागि दर्ता शुल्क रु ११ हजार एक सय ११ तोकिएको छ ।

पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिन लिगमा खेलाइने खेलमा लिग चरणका खेल १५ ओभरमा खेलाइने छ भने क्वार्टरफाइनलपछिका खेल २० ओभरमा खेलाइने जनाइएको छ । प्रतियोगितालाई बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन् ।



आइतबार २२, साउन २०७९ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.