सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघे

युग संवाददाता     218 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघे

धनगढी /  भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो । हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । सीमा जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, “भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन थालिएको छ ।”

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररुपमा भइरहेको छ । उनले भने, “जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा एक एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण सम्पन्न हुँदैछन् ।”

यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररुपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ ।  उनले भने, “सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणमा कडाइ, खोप कार्यक्रममा तदारुकता गरेका छौँ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार दुई सय १२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार आठ सय ६७ मा सङ्क्रमण पुष्टि भइसकेको छ ।  सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३३ को ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ ।



शनिबार १४, साउन २०७९ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.