अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने

युग संवाददाता     268 पटक पढिएको    

अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने

डडेल्धुरा / अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने भएको छ । त्यसको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढेको छ । भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी छ ।

२०७२ साल असार ३ गते डडेल्धुरासहित बैतडी र दार्चुला जिल्लाका सेवाग्राहीका लागि तत्कालीन महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा स्थापना भएका थिए ।

उक्त कार्यालयले धनगढी र महेन्द्रनगरदेखि डडेल्धुरासम्म मात्रै रुट पाएका सवारी साधनको डडेल्धुराभन्दा अगाडि रुट दिने गरी पट्के काम गर्दै आएको थियो ।  २०७४ साल चैत १६ गते सेवा कार्यालयबाट स्तरोन्नति हुँदै यातायात व्यवस्था सेवा कार्यालय नामाकरण गरियो । उक्त कार्यालयले रुट परमिटसँगै नवीकरण, सवारी दर्ता, नामसारी लगायतका सेवा दिन थालेको हो ।

तर पहाडी जिल्लाका सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरणका लागि धनगढी र महेन्द्रनगर पुग्नुपर्ने बाध्यता भने कायमै थियो । सोही बाध्यताको अन्त्य गर्नका लागि २०७५ साल पुस १८ गतेबाट यातायात व्यवस्था सेवा कार्यालयबाट लाइसेन्स नवीकरणको काम पनि सुरु गरिएको थियो ।

यद्यपि डोटी र डडेल्धुराका कार्यालयसँग लाइसेन्स जारी गर्ने अधिकार भने थिएन । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले २०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुरा नामाकरण गरेको हो । यातायात व्यवस्था कार्यालयमा स्तरोन्नति भएसँगै दुवै कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेका छन् ।

यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख मेखराज उपाध्यायका अनुसार अहिले लाइसेन्स वितरणका लागि अनलाइन आवेदन खुल्ला छ भने साउन १७ र १८ गते आवेदकलाई कार्यालयमा उपस्थित हुन मिति तोकिएको छ । भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने तयारी भइरहेको उनको भनाई छ ।

प्रयोगात्मक परीक्षाका लागि यातायात व्यवस्था कार्यालय डडेल्धुरासंग आफ्नै ट्रायल सेन्टर नरहे पनि त्यसका लागि कार्यालयले अमरगढी नगरपालिकामै रहेको उग्रतारा ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर भाडामा लिएको छ । 

अहिले डडेल्धुरा बाहेकका सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई र्झनुपर्ने बाध्यता रहेको छ । सवारी चालक अनुमति पत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौं खर्च हुने गरेको छ । 

यातायात व्यवस्था कार्यालय डोटी र डडेल्धुराबाट अहिले मोटरसाइकल, स्कुटर, जिप र कारको लाइसेन्स मात्रै जारी हुने  गरेको भएता पनि अब भने सेवा विस्तार गरेपछि  सात पहाडी जिल्लाका बासिन्दालाई सहज हुने विश्वास गरिएको छ ।



मङ्गलबार १०, साउन २०७९ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.