बैतडी अस्पतालमा जटिल शल्यक्रियासहितको उपचार सेवा

युग संवाददाता     289 पटक पढिएको    

बैतडी अस्पतालमा जटिल शल्यक्रियासहितको उपचार सेवा

बैतडी / बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेका हुन । 
जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताए । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ । 
बैतडी अस्पताल स्थापना भएको करिब ४० वर्षपछि पहिलो पटक विशेषज्ञसहित नौ चिकित्सक पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन् । 
अध्यक्ष भट्टले भनिन्–‘बैतडीमा डाक्टर आउनै नमान्ने समस्या थियो। यो पटक सङ्घीय सरकार र प्रदेश सरकारले बैतडीवासीको आवाज सुनेर चिकित्सक पठाएको छ ।’ उनले उपचार गर्न अब महँगो शुल्क तिरेर भारतको पिथौरागढ र नेपालका अन्य सहर जानुपर्ने बाध्यता हटेको बताइन् । 
एपेन्डिसाइटिस भएर बैतडी अस्पताल ल्याइएकी पुरचौडी नगरपालिका–१० की बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो । एपेन्डिसाइटिसको समयमै उपचार नपाए मानिसको ज्यान जान सक्ने भएकाले रोगको लक्षण देखिने बित्तिकै शल्यक्रिया गर्नुपर्ने अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताए । 
जिल्ला अस्पताल बैतडीमा अहिले शल्यक्रिया गरेर हर्निया, एपेन्डिसाइटिस र प्रसूति सेवा सुरु भएको छ । बैतडी अस्पतालमा दन्तरोग विशेषज्ञबाट दाँतसम्बन्धी उपचार सेवासमेत सुरु भएको जनाइएको छ ।
डा. श्रेष्ठका अनुसार जिल्ला अस्पताल बैतडीमा अहिले २४ घण्टा इमर्जेन्सी सेवा, जनरल ल्याब सेवा, कोभिडका लागि पीसीआर ल्याब, सामाजिक सेवा एकाइ, सङ्कट व्यवस्थापन एकाइ र ओपीडी सेवा नियमित सञ्चालन भएको छ ।    



मङ्गलबार १०, साउन २०७९ १०:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.