बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वर पुग्ने पद्मार्ग निर्माण

युग संवाददाता     306 पटक पढिएको    

बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वर पुग्ने पद्मार्ग निर्माण

बैतडी / बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।
पदमार्ग बनेपछि धार्मिक पर्यटकलाई पाताल भूमेश्वरको गुफा र तलाउको दर्शन गर्न सजिलो भएको मन्दिरका संरक्षक जयराज विष्टले बताए । पदमार्ग निर्माणपछि दशरथचन्द मार्गको सिउँडेबाट १५ मिनेटमै पाताल भूमेश्वरको गुफा र तलाउ नजिक पुग्न सकिने विष्टले बताए । 
यसअघि स्थानीय युवाको अगुवाइमा चन्दा सङ्कलन गरेर यहाँ प्रवेशद्वार निर्माण गरिएको सिद्धनाथ पाताल भूमेश्वर धार्मिक वन समितिका अध्यक्ष अरुण विष्टले बताए । बैतडीको वासुलिङ्ग र भूमेश्वरको सीमामा पर्ने जङ्गलको एक हजार दुई सय मिटर अग्लो डाँडोमा रहेको पाताल भूमेश्वर गुफासँगै कहिल्यै नसुक्ने स्थिर तलाउ यहाँको मुख्य आर्कषण हो । शिव पार्वतीको ‘मधुमास’ स्थल तथा द्वापरयुगमा पाण्डवहरू यहाँबाट स्वर्ग गएको धार्मिक किंवदन्ती रहेको छ ।  
शिवरात्रिलगायत साउने सङ्क्रान्ति पर्वमा यहाँ विशेष पूजा लाग्ने गर्छ । पाताल भूमेश्वर गुफाको उत्तरतिर रहेको तलाउ र बीच भाग रहेको शिव मन्दिरमा विवाह गरेर सयौँ जोडी विधिवत् लगनगाँठोमा बाँधिने गरेका छन् । धार्मिक दृष्टिले पवित्र मानिएको पाताल भूमेश्वर गुफालाई स्थानीयवासीले परापूर्वकालदेखि पुज्दै आइरहेका छन् । पाताल भूमेश्वर गुफाका बारेमा अनुसन्धान गर्न सात वर्षअघि अन्तर्राष्ट्रिय गुफा विशेषज्ञ मोरिस दुसेनले आठ सय मिटरसम्म भित्र पसेर यो गुफा दक्षिण एसियाकै लामो हुन सक्ने दाबी गरे । अक्सिजन र अन्य उपकरणको अभावमा गुफाको आठ सय मिटरसम्म पुगेर उनी फर्किएका थिए । 
‘इन्टरनेसनल सेन्टर फर दी एक्सप्लोरेसन अफ दी हिमालयज’का अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेनको टोलीले गुफाको आठ सय मिटरसम्म भित्र पसेर नेपालकै लामो गुफा प्रमाणित गरेका थिए । यो गुफाका विषयमा सङ्घीय र प्रदेश सरकारले चासो देखाए पनि स्थानीय सरकारले भने उपेक्षा गरेको मन्दिरका संक्षक जयराज विष्टले बताए । काठमाडौँबाट एक घण्टाको हवाई यात्रापछि धनगढीबाट दुई सय किलोमिटर पक्की सडक पार गरेर बैतडीको पाताल भूमेश्वर गुफा पुग्न सकिन्छ । बैतडी सदरमुकाम जोड्ने दशरथचन्द लोक मार्गबाट १५ मिनेट पैदल दूरीमा रहेको पाताल भूमेश्वरमा पछिल्लो समय गुफाको दर्शन तथा अवलोकन गर्न भारतको उत्तराखण्ड राज्यबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् ।  



सोमबार ०९, साउन २०७९ १०:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.