घोडाघोडी चरा अभयारण्य क्षेत्रमा बढ्न थाले दुर्लभ चरा

युग संवाददाता     208 पटक पढिएको    

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा बढ्न थाले दुर्लभ चरा

धनगढी / कैलालीको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा दुर्लभ चराको संख्या बढ्न थालेको छ । संरक्षणप्रति समुदायको लगाव बढ्दै गएपछि दुर्लभ चराको संख्या पनि बढ्न थालेको हो । सो चरा अभयारण्य क्षेत्रमा विश्वमै दुर्लभ राजलाहाँचे चराको सङ्ख्यामा पनि बढोत्तरी भएको छ ।

विश्वमा तीव्र रुपमा सङ्ख्या घटिरहेको यो चरा प्रजाति घोडाघोडी चरा अभयारण्य क्षेत्रमा भने केही बढेको पाइएको हो । सन २०१४ मा पहिलो चोटी तत्कालीन घोडाघोडी सिमसार क्षेत्रमा जम्मा एक जोडी राजलाहाँचे देखा परेका थिए । हाल सङ्ख्या बढेर १२ वटा पुगेको यस क्षेत्रमा चराको अनुगमन गर्दै आएका नेपाल पंक्षी संरक्षण सङ्घ (बीसीएन) का चरा विशेषज्ञ हिरुलाल डङ्गौराले बताए ।

‘सुरुमा चराविद दयाराम चौधरी र मैले नै घोडाघोडी सिमसार क्षेत्रमा राजलाहाँचे अभिलेख गरेका थियौं’, उनले बताए । ‘पछिल्लो गणनाको क्रममा १२ वटा राजलाहाँचे पुगेका छन् ।’ आधा दशकभन्दा बढी समयमा जम्मा १० वटा राजलाहाँचे बढेको देखिएको छ ।अन्तर्राष्ट्रिय प्रकृति सरक्षण सङ्घ (आइयुसीएन) ले संवेदनशील सूचीमा राखेको यो चरा घोडाघोडी चरा अभयारण्य क्षेत्रको सीताकुण्ड सामुदायिक वन, माघी, लट्ठहुवा सामुदायिक वन, घोडाघोडी ताल क्षेत्र, रामपुर क्षेत्रमा देखा पर्दछन् । यसैगरी, चुरे भावर क्षेत्रमा पनि यी चराहरु पुग्ने गरेको जनाइएको छ ।

सालका अग्ला–अग्ला रुखमा बस्ने यो चराहरु सालका वन भएका क्षेत्रमा बढी देखा पर्ने गरेको जनाइएको छ । राजलाहाँचेले प्रायः एकै रुखमा धेरैले सामूहिक रुपमा गुँड लगाउने र बच्चा कोरल्ने गरेको डङ्गौराले बताए । सामूहिक रुपमा एकै रुखमा धेरैले बच्चा कोरल्ने गरेका कारण यी चरा प्रजातिको सिकार हुने सम्भावना बढी रहने गरेको जनाइएको छ ।

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा पनि चोरी सिकार हुने कार्य पूर्ण रुपमा नरोकिएको बताइएको छ । राजलाहाँचेहरु यत्रतत्र पुग्ने गरेकाले चोरी सिकारको सम्भावना रहेको १४ वर्षसम्म वनहेरालुको काम गर्नु भएका घोडाघोडी नगरपालिकास्थित माघी गाउँका दिलबहादुर चौधरीले बताए । ‘नकरोड, घोडाघाडी ताल क्षेत्रमा फाटफुट रुपमा त्यो चरा देखा पर्दछन्’, उनले भने । स्थानीयवासीले राजलाहाँचेलाई ‘बड्का कठ्खोलिया’ भनेर चिन्ने गरेका छन् ।

घोडाघोडी चरा अभयारण्य क्षेत्रबाहेक कैलालीको बसन्ता संरक्षित क्षेत्र र कर्णाली नदी जैविक मार्गमा पनि राजलाहाँचे चरा बस्ने गरेको जनाइएको छ । त्यसगैरी, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित मोहना लालझाडी संरक्षित वन र ब्रह्मदेव जैविक मार्गमा पनि राजलाहाँचे पाइने गरेका छन् । यी तीन वटै ठाउँमा गरेर २०१९ मा आठ वटा राजलाहाँचे अभिलेख गरिएको छ । चराविद डङ्गौराले नै सो ठाउँमा आठ वटा राजलाहाँचे अभिलेख गरेका थिए ।

उनका अनुसार विश्वमा २३९ प्रजातिका लाहाँचेहरु पाइन्छन् । नेपालमा हालसम्म २६ प्रजातिका लाहाँचे भेटिएका छन् । जसमध्ये राजलाहाँचे विश्वमै दुर्लभ हो । नेपालको पर्सा, चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमासमेत पाइने राजलाहाँचेको नेपालभरिको सङ्ख्या १९० देखि २५० सम्म रहेको अनुमान छ । 

नेपालमा बासस्थानको विनाश नै चराहरुको लागि मुख्य खतरा हो । यसको कारण ८६ प्रतिशत चराहरु सङ्कटापन्न अवस्थामा पुगिसकेको जनाइएको छ । पछिल्ला दशकमा मानवीय क्रियाकलापको कारण चराहरुको बासस्थानको सङ्कुचन तथा विनाश भइरहेको डङ्गौराले बताए । वन फडानी, डढेलो, घाँसे मैदान नाश, चोरी शिकार, बद्लिदो तापमान र मौसम परिर्वतन जस्ता कारणले थुप्रै प्रजातिका चराहरुले सङ्कट झेलिरहेको उनको भनाइ छ । 

नेपालबाट हालसम्म आठ प्रजातिका चरा लोप भइसकेका छन् । त्यस्तै, विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिसहित १६८ प्रजातिका चराहरु राष्ट्रिय रुपमा अति सङ्कटापन्न अवस्थामा पुगिसकेका छन् । कैलालीको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा हालसम्म ३६० प्रजातिको चरा अभिलेख गरिएको छ । जसमध्ये ६४ प्रजाति जलचर र बाँकी थलचर रहेको जनाइएको छ । यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् ।



आइतबार ०८, साउन २०७९ १०:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.