दुई हप्ता नपुग्दै उप्कियो कालोपत्रे

युग संवाददाता     219 पटक पढिएको    

दुई हप्ता नपुग्दै उप्कियो कालोपत्रे

कञ्चनपुर / शुक्लाफाँटामा कालोपत्रे गरिएको सडक १३ दिन नपुग्दै ठाउँठाउँमा उप्किन थालेको छ। वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे उक्किएको हो।

कालोपत्रे भत्किएपछि स्थानीयले विरोध गरेका छन्। सडक कालोपत्रे भइरहँदा पनि स्थानीयले पटक–पटक ठेकेदारलाई गुणस्तरमा प्रश्न उठाएकोमा कसैले चासो नदिएको केशवबहादुर साउदले बताए। 
उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा बनेको हो। ४२ लाखको योजना रहेकोमा प्रकाश नेगीले सडक निर्माणको ठेक्का २५ लाखमा सम्झौता गरेका थिए। उनीसँगै शुक्लाफाँटा नगरपालिकाका कर्मचारी टेकेन्द्रप्रसाद भट्ट पनि उक्त कामको हिस्सेदार छन्। उनी नगरपालिकाको योजना शाखामा सब इन्जिनियर पदमा कार्यरत छन्।

पूर्वाधार विकास कार्यालय प्रमुख दीपक नेगीका भाइ र नगरपालिकाका सब इन्जिनियर भट्टले ठेक्का लिएर गरेको काम गुणस्तरीय नभएको स्थानीयको आरोप छ। तर पूर्वाधार विकास कार्यालयका प्रमुख नेगीले पारिवारिक सम्बन्धका कारण ठेक्का उपलब्ध नगराएको दाबी गरे।

नगरपालिकाका सूचना अधिकारी हेमराज भट्टले अहिले काम गुणस्तरहीन भएको गुनासो आएपछि निकासा रोकिएको र पुनः कालोपत्रे गर्न लगाउने बताए ।
स्थानीयले विरोध गरेपछि शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले कालोपत्रे सडकको निरीक्षण गरेका छन्। अनुगमनपछि नगर प्रमुख महराले नगरपालिका कार्यालयमा निर्माण व्यवसायी ठेकेदारलाई बोलाएर छलफल गरेका थिए। छलफलका क्रममा ठेकेदार नेगीले सडक मर्मत गर्ने प्रतिबद्धता जनाए। 

शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा कालोपत्रे सडक भत्किएपछि विवादमा तानिएका शुक्लाफाँटा नगरपालिकाका सव इन्जिनियर टेकेन्द्रप्रसाद भट्टलाई कारवाही गर्न स्थानीयले माग गरेका छन्।   



बुधबार ०४, साउन २०७९ १२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.