घोडाघोडीद्वारा भौतिक पूर्वाधारमा साढे एक अर्ब खर्च

युग संवाददाता     265 पटक पढिएको    

घोडाघोडीद्वारा भौतिक पूर्वाधारमा साढे एक अर्ब खर्च

घोडाघोडी / कैलालीका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिकाले चार वर्षमा एक अर्ब सात करोड ४८ लाख ६० हजार ४४ रुपैयाँ रकम भौतिक पूर्वाधार विकासमा खर्च गरेको छ । सो रकम पक्की पुल, झोलुङ्गे पुल, सडक कालेपत्रे, सडक ग्राभेल, कल्भर्ट निर्माण, तटबन्धन निर्माण, खानेपानी, सामुदायिक भवन, मन्दिर निर्माण, पार्क निर्माण, डिप बोरिङ निर्माण, पक्की नाली निर्माण, पक्की पर्खाल निर्माण, गेट निर्माण, सार्वजनिक शौचालय र खेल मैदान निर्माणमा खर्च भएको हो ।
चार वर्षमा घोडाघोडी नगरपालिकामा चारवटा पक्की पुल, छवटा झोलुङ्गे पुल, २२ किलोमिटर सडक कालोपत्रे, ५४३ किलोमिटर सडक गाभ्रेल, ११५ वटा कल्भर्ट निर्माण भएका छन् । त्यसै गरेर सात किलोमिटर तटबन्ध, पाँचवटा खानेपानी ट्याङ्की निर्माण, ६६ वटा धारा जडान, ७७ वटा सामुदायिक भवन निर्माण, १३ वटा मन्दिर निर्माण, आठवटा पार्क निर्माण, ११९ वटा  डिप बोरिङ निर्माण, तीन हजार ३२३ मिटर पक्की नाली निर्माण, ४१ सय मिटर पक्की पर्खाल निर्माण, १३ वटा गेट निर्माण, १८ वटा सार्वजनिक शौचालय निर्माण र १४ वटा खेल मैदान निर्माण भएको योजना शाखाका प्रमुख सन्तोष चन्दले जानकारी दिए । योजनाहरूमध्ये सबैभन्दा बढी रकम बाटो ग्राभेलमा खर्च भएको छ । आर्थिक वर्ष २०७५–७६ र २०७७–७८ मा नगरपालिकाका १२ वटा वडामा ५४३ दशमलव पाँच किलोमिटर सडक ग्राभेल भएको छ; जसमा ३३ करोड १२ लाख ८९ हजार ५४२ रुपैयाँ रकम खर्च भएको जनाइएको छ । 
त्यसैगरी चार वर्षमा १९ करोड ३१ लाख १४ हजार ५६३ रुपैयाँ २२ किलोमिटर सडक कालोपत्रेमा खर्च भएको छ । चार वर्षमा घोडाघोडी नगरपालिकामा १२ करोड ६७ लाख ३४ हजार २९८ रुपैयाँ ११५ वटा कल्भर्ट निर्माणमा खर्च भएको छ । आठ करोड ५६ लाख २३ हजार ९८ रुपैयाँ ७७ वटा सामुदायिक भवन निर्माणमा खर्च भएको जनाइएको छ । 
चार वर्षको अवधिमा नगरपालिकामा चारवटा पक्की पुल र छवटा झोलुङ्गे पुल निर्माण भएका छन् । नगरपालिका योजना शाखाको प्रतिवेदनमा पक्की पुल निर्माणमा छ करोड ६७ लाख ४५ हजार ८९४ रुपैयाँ खर्च भएको छ भने झोलुङ्गे पुल निर्माणमा दुई करोड ८९ लाख ५६ हजार १२३ रुपैयाँ खर्च भएको जनाइएको छ ।
योजनाहरूमध्ये धेरै सङ्घीय र प्रदेश सरकारको विशेष र समपूरक अनुदानअन्तर्गत निर्माण भएको जनाइएको छ । आर्थिक वर्ष २०७८–७९ मा समेत करिब तीन करोड भौतिक पूर्वाधार विकासका लागि आएको विशेष र समपूरक अनुदानको रकम विभिन्न कारणले काम हुन नसकेपछि फिर्ता भएको योजना शाखा प्रमुख चन्दले बताए ।



मङ्गलबार ०३, साउन २०७९ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.