वर्षाले डोटीका सडक अवरुद्ध

युग संवाददाता     238 पटक पढिएको    

वर्षाले डोटीका सडक अवरुद्ध

डोटी / केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका  सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् ।

वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैराधुर्कोट सडकमा यातायात अवरुद्ध छन् ।

बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको जोरायल –५ का किसान लीलाधर विष्टले बताए ।

यसैगरी वर्षात्ले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती भएको छ । यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको निरौलीका स्थानीयवासी सुरेन्द्रबहादुर बोहराले जानकारी दिए । यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको छ । 



आइतबार २६, असार २०७९ ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.