विपद् प्रतिकार्य सामग्री व्यवस्थापनका लागि सुरक्षा निकायलाई १०-१० लाख बजेट

युग संवाददाता     229 पटक पढिएको    

धनगढी / मनसुन सक्रिय भएपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा विपद् व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ । 


विपद् व्यवस्थापन तथा प्रकोप न्यूनीकरणका लागि प्रदेश सरकारले प्रदेशको नौ वटै जिल्लामा पाँच÷पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री एवम् विपद् व्यवस्थापन परिषद्का अध्यक्ष त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको छ । 
बैठकले मनसूनी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ बनाएर सबै मन्त्रालय, प्रदेशस्थित सबै सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई विपद् पूर्वतयारी गरी धनजनको क्षति हुन नदिनसमेत निर्देशन दिएको छ । यस्तै, प्रकोपको बेला सवारी आवागमन सुचारु राख्न आवश्यक पर्ने जनशक्ति, हेभी इक्विपमेन्ट, ढुङ्गा, रबर बोट एवं अन्य व्यवस्थापकीय कार्यहरु समन्वयात्मक र प्रभावकारी बनाउने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव एवं विपद व्यवस्थापन परिषदका सदस्यसचिव रामेश्वर दंगालले जानकारी दिए । 
यसकालागि तीनवटै सुरक्षा निकायलाई तत्काल दश/दश लाख रुपैयाँ र नौवटै जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई पाँच/पाँच लाखका हिसाबले रकम उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ । 
बैठकले विपद् पीडितलाई प्रदेश विपद् व्यवस्थापन तथा राहत वितरण निर्देशिका २०७६ बमोजिम राहत रकम तत्काल वितरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 
उक्त निर्णयअनुसार प्रदेश सरकारबाट प्रदान गरिने राहत वितरण गर्ने कार्यमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको प्रतिनिधि वा प्रदेशस्तर कार्यालयको प्रतिनिधिको संयोजकत्वमा कार्यदल रहनेछ । जसमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेको स्थानीय तहको विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपद सम्बन्धी कार्य गर्ने गैरसरकारी संस्थाको प्रतिनिधि रहने जनाइएको छ । 



बुधबार १५, असार २०७९ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.