यान्त्रिक कार्यालय तीन वर्षदेखि अलपत्र

युग संवाददाता     430 पटक पढिएको    

यान्त्रिक कार्यालय तीन वर्षदेखि अलपत्र

बैतडी / बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल सफा गर्ने उद्देश्यसहित यान्त्रिक कार्यालय स्थापना गर्न लागिएको हो । 
सडक विभागले २०७६ सालको साउन महिनामा बैतडीको अनारखोलीमा रहेको सडक विभागको भवनमा यान्त्रिक कार्यालय स्थापना गर्न बुडरस्थित यान्त्रिक कार्यालयलाई परिपत्र गरेको थियो । सडक विभागले २२ जना कर्मचारी र मेसिन औजारसहित यान्त्रिक कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
कैलालीको अत्तरिया नजिकै गोदावरीस्थित हेवी इक्विपमेन्ट डिभिजन कार्यालय रहेको छ । डोटीको बुडरमा उस्तै प्रकृतिको सडक विभागको अर्कोे कार्यालय छ । पहाडी जिल्लाको पहुँचमा यान्त्रिक कार्यालय नहुँदा सडक अरुद्ध भए अत्तरिया र बुडरबाट पहाडी जिल्ला पुग्न एक दिन लाग्ने गरेको छ । 
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यान्त्रिक कार्यालय स्थापनाका लागि आवश्यक पहल गर्ने बताए । वर्षा अगावै कार्यालय स्थापना हुन सके वर्षात्को समयमा यातायात तुरुन्तै सञ्चालन गर्न सहज हुने बैतडी अनारखोलीका गोपालसिंह विष्टले बताए । 
यान्त्रिक कार्यालयले सरकारी गाडी मर्मत गर्नेदेखि अवरुद्ध भएको सडक खोल्ने काम गर्छ । बिग्रेका सरकारी गाडी मर्मत गर्न यान्त्रिक कार्यालयमा २२ जना मेकानिक, कार्यालय प्रमुख, प्राविधिक, लेखापाल र अवरुद्ध बाटो खोल्ने डोजर चालकसहितको दरबन्दी हुने  गर्छ । विभागले अनारखोलीमा यान्त्रिक कार्यालय स्थापना गर्न गरेको निर्देशन कार्यालय प्रमुखले अटेर गर्दा यान्त्रिक कार्यालय बैतडी पुग्न नसकेको स्थानीयवासीले गुनासो गरेका छन्  ।



सोमबार १३, असार २०७९ ०३:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.