दार्चुलाको टिंकरमा पुग्यो टेलिफोन

युग संवाददाता     232 पटक पढिएको    

दार्चुलाको टिंकरमा पुग्यो टेलिफोन

दार्चुला /  कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ टिंकरमा तत्काल तार तान्न सम्भव नदेखिएपछि फोन सेवा सञ्चालनमा ल्याउन भिस्याट जडान गरिएको खलंगास्थित नेपाल टेलिकम दार्चुला कार्यालयले जनाएको छ । सुरुवातमा दुई लाइन फोन जडान गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । 

‘यो दुर्गम क्षेत्रका बासिन्दाले फोन गर्नुपर्दा छाङरु झर्नुपर्ने बाध्यता थियो,’ स्थानीय दानसिंह तिंकरीले भने, ‘फोन जोडिएपछि आफन्तसित सम्पर्क गर्न सजिलो भएको छ ।’ यसअघि छाङरुमा फोन लागे पनि टिंकरमा फोन लाग्दैन थियो ।

नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुई लाइन फोन सेवा जोडिएको हो । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक नजिकको उक्त बस्तीमा मोबाइल सेटले काम गर्दैन । सञ्चार सेवा नहुँदा ७५ परिवार स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीलाई पनि सास्ती थियो । फोन लाइन जडान भएपछि स्थानीय खुसी भएका छन् ।

पहिलोपटक भिस्याट सेट जडान गरेर फोन सेवा सञ्चालनमा आएपछि मोबाइल सेवा पनि छिट्टै आउनेमा विश्वास बढेको व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले बताए । यसअघि छाङरुमा सशस्त्र प्रहरी र स्थानीय बासिन्दाका लागि भन्दै नेपाल टेलिकमले त्यस्तै फोन लाइन जडान गरिसकेको छ ।

छाङरुमा नेपाल टेलिकमको स्काई फोन पनि अझै सञ्चालनमा छ । छाङरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । सामरिक महत्त्व बोकेको छाङरु र टिंकरमा फोन सेवा सञ्चालनमा ल्याउन प्राविधिक टोलीसँगै प्रमुख गुरुङ आफैं खटिएका थिए ।   



बिहिबार २६, जेठ २०७९ १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.