कैलालीमा २४ प्रतिशतलेमात्रै लगाए बुस्टर डोज

युग संवाददाता     262 पटक पढिएको    

कैलालीमा २४ प्रतिशतलेमात्रै लगाए बुस्टर डोज

धनगढी / कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने, आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताइन् । ‘डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ’, उनले भनिन्–‘गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइनँ ।’ 
कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन् । सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ । खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रिमा चौधरीले बताइन् । ‘पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन’, उनी भन्छिन् । 
कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । कैलाली भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ कोरोनाको जोखिम छ । बुस्टर डोज लगाउन अति आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘सामान्य ज्वरो आउँदा केही हुँदैन, कसैलाई आएको भन्ने गुनासो छ । एक–दुई दिनमा निको हुन्छ’, उनले भने । ‘खोप अनिवार्य लगाउनु पर्छ ।’  
कैलालीमा अहिलेसम्म एक लाख ७८ हजार ७०८ जनाको कोरोना परीक्षण गरिएको छ । यसमध्ये २४ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीमा ३५६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।   



बुधबार २५, जेठ २०७९ १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.