सामाजिक सुरक्षा भत्ता बुझ्न दुई दिन पैदल हिड्नु पर्ने बाध्यता

युग संवाददाता     355 पटक पढिएको    

सामाजिक सुरक्षा भत्ता बुझ्न दुई दिन पैदल हिड्नु पर्ने बाध्यता

बैतडी / दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरण बैङ्कमार्फत गर्न थालेपछि सिगास–६, थलाकाँडाका ७३ वर्षीय हरजित दुई दिन पैदल हिँडेर चैत १२ गते सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैङ्क पुगेका थिए । कतिपय ग्रामीण बस्तीमा सडक छैन । भएका कच्ची सडकमा यातायात चल्दैन । राज्यले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता लिने निर्णय लिएपछि पैदल यात्रा गर्न ज्येष्ठ नागरिक बाध्य भएका छन् । वडा कार्यालयबाट वितरण हुँदैआएको भत्ता गत चैतदेखि बैङ्क खाताबाट वितरण हुन थालेको हो ।

बैतडीको सिगास गाउँपालिका–२ स्थित कृषि विकास बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, पाँच वर्षमुनिका बालबालिकाले सास्ती भोग्दै आइरहेका छन् । यसअघि वडा कार्यालयबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने नियमका कारण सबै लाभग्राहीको बैङ्क खाता खोलिएको सिगास गाउँपालिकाले जानकारी दिएको छ । सडक यातायात नहुँदा ३ नम्बर वडादेखि ९ नम्बर वडासम्मका सेवाग्राही पैदल हिँडेर बाटोमा बास बस्दै सामाजिक सुरक्षा भत्ता बुझ्न आउने गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उनका अनुसार सिगास–५, ६, ७ र ८ नम्बर वडाबाट हिँडेर बैङ्क भएको ठाउँ सिगास–२ गाँजरी पुग्दा दुई÷ तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ । बैङ्कको दुःख पनि उस्तै छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैङ्क सेवा दिनुपरिरहेको गाँजरीस्थित कृषि विकास बैङ्कका प्रमुख शेरसिंह साउदले बताए ।  उनले भने–‘बिजुली नहुँदा बैङ्कको सेवा छिटो छरितो हुन सकेको छैन । घाम नलागेको दिन सोलारले काम गर्दैन । इन्टरनेट नचल्दा सेवा ठप्प हुने गरेको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन निकै सास्ती भएकाले बैङ्कसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीले माग गरेका छन् । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । अध्यक्ष धामीले भने–‘कृषि विकास बैङ्कसित समन्वय गरेर वडा कार्यालयमार्फत अथवा सहकारीमार्फत भत्ता वितरण गर्ने विषयमा छलफल भइरहेको छ ।’

उनले भने–‘राज्यले सम्मान गरेर दिएको सामाजिक सुरक्षा भत्ता लिन साह्रै दुःख भएको छ । यो दुःख कष्ट अन्त्य हुने गरी काम गर्छौं ।’ 



मङ्गलबार २४, जेठ २०७९ ०३:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.