सुदूरपश्चिम सरकारको नीति कार्यक्रममाथि छलफल

युग संवाददाता     235 पटक पढिएको    

सुदूरपश्चिम सरकारको नीति कार्यक्रममाथि छलफल

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

छलफलमा भाग लिने सदस्यहरुले प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुसारको बजेट विनियोजन गरेर कार्यान्वयनको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले आफ्नो उपस्थिति देखिने गरी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, विनियोजन हुने बजेटलाई उत्पादनशील, सन्तुलित र न्यायोचित कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी रहेको उनिहरुले सुझाव दिए ।

आजको छलफलमा तारा लामा तामाङ, भरतबहादुर खड्का र सुशीला बुढाथोकीले भाग लएका थिए । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि सभामा छलफल गरियोस् भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । सुदूरपश्चिमको प्रदेशसभा नियमावली २०७४, प्रथम संशोधन २०७६ सहितलाई संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समितिमा प्रदेशसभा सदस्य वीरमान चौधरी, तारा लामा तामाङ, अम्बिकुमारी थापा, बलदेव रेग्मी र मालामती रानाथारू सदस्य रहने गरी प्रस्तुत नियमावली संशोधनसम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले नेकपा (एमाले) संसदीय दलका तर्फबाट बलदेव रेग्मी र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका तर्फबाट कृष्णबहादुर चौधरीलाई प्रदेशसभा, कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत गरिएको व्यहोरा सदनलाई जानकारी गराए ।  

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले पञ्चदेवल विनायक नगरपालिकामा यही २१ गते मृत फेला परेका विनोद शाहको हत्या गरिएको भन्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र शान्तिसुरक्षाको व्यवस्था गर्न ध्यानाकर्षण गराए । 



सोमबार २३, जेठ २०७९ ०९:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.