कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

युग संवाददाता     321 पटक पढिएको    

कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

कञ्चनपुर / नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ।

स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ। मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुखरप्रमुख पदमै बढी बदर भएको हो।

निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ। दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको छ। भीमदत्तनगरमा कूल ४२ हजार ७४९ मत खसेकोमध्ये नगरप्रमुख पदमा सात हजार ५३५ मत र उपप्रमुखमा छ हजार ९३८ मत बदर भएको छ। नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए।

त्यसैगरी दोधारा–चाँदनीमा नगर प्रमुखमा एक हजार ४८७ र उपप्रमुखमा एक हजार ६८० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। महाकाली नदीपारीको दोधारा–चाँदनीमा कूल १८ हजार ३१९ मत खसेको थियो। नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा काँग्रेस उम्मेदवारी विजयी भएका छन्। त्यस्तै नगरप्रमुख र उपप्रमुख दुवै काँग्रेसले जितेको वेदकोट नगरपालिकामा कूल २२ हजार २९३ मत खसेको थियो।

नगरप्रमुखमा तीन हजार ६५६ र उपप्रमुखमा तीन हजार ७५६ मत बदर भएको तथ्याङ्कले देखाएको छ। नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ। जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका पनि प्रमुख र उपप्रमुखलगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन्। शुक्लाफाँटाको नगरप्रमुखमा दुई हजार ९८९ मत र उपप्रमुखमा तीन हजार ९१९ मत बदर भएको छ। नेकपा (एमाले)का उम्मेदवार नगरप्रमुख र  काँग्रेसका उम्मेदवार उपप्रमुख जितेका थिए। यहाँ कूल २२ हजार ४२७ मत खसेको थियो।

त्यसैगरी कृष्णपुर नगरपालिकामा २८ हजार ९४६ मत खसेको थियो । जसमा प्रमुखमा दुई हजार ७६७ र उपप्रमुखमा तीन हजार ५३५ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रमुख र उपप्रमुख पद दुवैमा काँग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन्।

दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख बनेका छन्। तेइस हजार ६०८ मत खसेको पुनर्वासमा नगरप्रमुखमा चार हजार २९९ र उपप्रमुखमा चार हजार ३६२ मत बदर भएको छ ।बेलौरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का पातिलाल चौधरी दोस्रो पटक प्रमुखमा निर्वाचित भएका छन्। उपप्रमुख भने नेकपा एमालेबाट निर्वाचित भइन्। पच्चीस हजार ७३७ मत खसेको बेलौरी नगरपालिकामा नगरप्रमुखमा दुई हजार ८१९ र उपप्रमुखमा दुई हजार ९५० मत बदर भएको देखिन्छ।

त्यसैगरी बेलडाँडी गाउँपालिकामा समेत मत बदर भएको छ। यो पालिका अध्यक्षमा एक हजार ३७२ र उपाध्यक्षमा एक हजार ६४३ मत बदर भएको छ। नौ हजार ८३६ मत खसेको बेलडाँडी गाउँपालिकामा काँग्रेसका उम्मेदवार अध्यक्ष/उपाध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी यहाँको राना थारु समुदायको बाहुल्य भएको लालझाडी गाउँपालिकामा अध्यक्षमा एक हजार ४११ र उपाध्यक्षमा एक हजार ७४४ मत बदर भएको छ। एघार हजार ३३५ मत खसेको यहाँ नेकपा एमालेका उम्मेदवारले अध्यक्ष/उपाध्यक्ष जितेका थिए । दुई लाख ९५ हजार ३५४ मतदाता रहेको कञ्चनपुरमा ९० हजार १०४ जना मतदानमा सहभागी भएनन्।  



बिहिबार १९, जेठ २०७९ १२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.