बाजुराका सिडिओ सहित सुरक्षा अधिकारी फेरिए

युग संवाददाता     285 पटक पढिएको    

बाजुराका सिडिओ सहित सुरक्षा अधिकारी फेरिए

बाजुरा / बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् । बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरवाही गरेको भन्दै निर्वाचन आयोगले यसअघि कार्यरत प्रजिअसहित सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएबमोजिम आइतबार नयाँ प्रमुखलाई पठाइएको हो ।

प्रमुख जिल्ला अधिकारीमा अध्यागमन विभागमा कार्यरत रहेका प्रकाशचन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव उपरीक्षक (डिएसपी) मा नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेका सूर्य थापा र सशस्त्र प्रहरी प्रमुख डिएसपीमा टीकापुर तालिम केन्द्रमा कार्यरत गंगा पन्तलाई बाजुरा पठाइएको छ । उनीहरु तीनै जनालाई आइतबार सेनाको हेलिकप्टरबाट सदरमुकाम मार्तडी पुर्‍याएको हो ।

यसअघि कार्यरत प्रजिअ उपेन्द्रराज पौड्याल, प्रहरी प्रमुख डिएसपी चतुर्भूज ओझा र सशस्त्रका प्रमुख डिएसपी दिपक बिष्ट आइतबार नै जिल्लाबाट बाहिरिएका छन् । मतदानका दिन बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदानस्थलमा बुथ कब्जा तथा धाँधलीका घटनाहरु भएपछि दुई सातासम्म पुनः मतदान या मतगणना भन्ने विवाद भएको थियो । एमालेले मतगणना हुनुपर्ने अडान लिएको थियो भने कांग्रेसले पुनः मतदानमा जोड दिएको थियो ।

विवादको निरुपण गर्न बाजुरा पुगेको निर्वाचन आयोगका आयुक्तसहितको टोलीले स्थलगत अध्ययन गरी पेश गरेको प्रतिवेदनपछिको छलफलबाट आयोगले चार दिनअघि बुढीगंगामा पुनः मतदान गराउने निर्णय गरेको थियो । त्यसै क्रममा आयोगकै निर्देशन अनुसार गृह मन्त्रालयले आइतबार प्रमुख जिल्ला अधिकारीसहित नयाँ सुरक्षा अधिकारी पठाएको हो ।पुन: निर्वाचनको मिति भने निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने आयोगले बताएको छ । 



सोमबार १६, जेठ २०७९ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.