कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते हुने

युग संवाददाता     481 पटक पढिएको    

कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते हुने

काठमाडौं / कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ । निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए ।

कार्यपालिका निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गतेको निर्वाचनमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) का बीच गठबन्धन भएकाले आठजना कार्यपालिका सदस्यमध्ये एक जनामा माओवादीको पनि उम्मेदवारी परेको छ ।

नौवटा वडा रहेको नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । निर्वाचित नगरप्रमुख, उपप्रमुख, नौ वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४७ जना मतदाता रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यपालिकाको महिला सदस्य निर्वाचित मध्येबाटै हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यक सदस्य भने नगरपालिकाको मतदाता नामावलीमा नाम रहेकामध्येबाट उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत राउतले जानकारी दिए । नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उपेन्द्र कार्की, उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएकी छन् । वडा नं १, ३, ४ एमालेले जितेको छ । कांग्रेसले वडा नं २, ५, ७, ८ र ९ जितेको छ । वडा नं ६ मा भने नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाँल विजयी भएका छन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा भने नगरप्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमालेले जीत हासिल गरेको थियो । त्यसबेला निर्वाचित नगरप्रमुख कृष्णहरि थापा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए । यसपटक पनि निर्वाचन लडेका थापा तेस्रो भएका थिए ।
 



सोमबार १६, जेठ २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.