झण्डै ७५ लाख विरुवा वृक्षारोपण उपलब्धी भने शून्य

युग संवाददाता     491 पटक पढिएको    

झण्डै ७५ लाख विरुवा वृक्षारोपण उपलब्धी भने शून्य


धनगढी, ८ असोज

सुदूरपश्चिम प्रदेश सरकारले चार वर्षको अवधिका प्रदेश भर झण्डै ७५ लाख विरुवा वृक्षारोपण गरे पनि त्यसको उपलब्धी भने शून्य छ । 

वर्षेनि करोडौं सरकारी बजेट स्वाहा पारेर हजारौ बिरुवा तामझामका साथ रोप्ने गरे पनि सम्बन्धित निकाएको गैर जिम्मेवारीपनले त्यसको परिणाम शून्य हुने गरेको जानकारहरु बताउँछन् । वर्षायाम सुरु भएपछि प्रदेशका सबै जिल्लामा तामझामका साथ सार्वजनिक जग्गा तथा सामुदायिक वनमा वृक्षारोपण गरिन्छ । कहिले मन्त्री, कहिले मन्त्रालयका सचिव त कहिले स्थानीय स्तरका विषिष्ट व्यक्तित्वबाट उद्घाटन गरेर रोपिने बिरुवा हुर्काउने जिम्मा कुनै निकायले लिएका हुँदैनन् ।

असार अन्तिमतिर ठूलो बजेट सक्काएर मन्त्रालयमा प्रगति विवरण देखाउन मात्रै वृक्षारोपण गर्ने गरेको धनगढी वडा नमबर ३ की स्थानीय शर्मिला गौतमले बताइन् । ‘यस बर्ष पनि जिल्ला, स्थानीय तह तथा सामुदायिक वनसँग मिलेर प्रदेश सरकारले थुप्रै स्थानमा वृक्षारोपण गरेको छ,’ उनले भनिन्, ‘तर त्यसको संरक्षण कस्ले गर्ने भन्ने कुनै योजना अहिलेसम्म प्रदेश सरकारले बनाएको छैन, जसका कारण उपलब्धी शून्य हुने गरेको छ ।’

उनले आफ्ना कार्यकर्ता खुसी पार्न बिना तयारी मन लागेको स्थानमा वृक्षारोपण गर्ने गरेको बताइन् । ‘कार्यकर्ता खुसी पार्न एकै ठाउँमा हजारौं बोट रोपेर छोडिन्छ,’ उनले भनिन्,‘तर ती विरुवाको संरक्षण न त कार्यकर्ताले गर्छ, न सरकारले संरक्षण गर्ने योजना नै बनाएको छ ।’ 

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो ४ बर्षयता १ हजार ३० हेक्टर क्षेत्रफल जमिनमा ७७ लाख ८५ हजार ७७४ विभिन्न प्रजातिका विरुवा रोपिएका छन् । प्रदेश सरकारले १ हजार हेक्टर क्षेत्रफल जमिनमा ती विरुवा रोपेको जनाएको छ ।

सरकारले १ हजार हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको बताइरहँदा प्रदेशको करिब २८ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क छ । वृक्षारोपण पछि प्रदेशको वन क्षेत्र बढ्नुपर्नेमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको गरी २८ हजार चार सय तीन दशमलव २८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क छ ।

हरेक बर्ष ठूलो परिणाममा वृक्षारोपण गरे पनि उपलब्धी हासिल नहुनुमा रेखदेखको अभाव प्रमुख कारण रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कैलालीका अध्यक्ष डण्डिराज सुवेदी बताउँछन् । वृक्षारोपण मात्रै गरेर केही नहुने भन्दै उनले अनुगमन र रेखदेख पनि हुनुपर्ने बताए । हालसम्म सबै निकायले कार्यक्रम देखाएर बजेट सक्नका लागि मात्रै वृक्षारोपण गर्ने गरेको भन्दै उनले साँच्चै वृक्षारोपण गर्ने भए संरक्षणका लागि पनि बजेट छुट्याइनुपर्ने बताए । 

उनले अतिक्रमण हटाएर गरिने वृक्षारोपण पनि प्रभावकारी नभएको बताए । सरकारले अतिक्रमण हटाएर वृक्षारोपण गर्ने क्षेत्र अनुगमन नहुँदा पुनः अतिक्रमण हुने गरेको उनको भनाइ छ । ‘पूर्व तयारीबिना नै एक दिन ठूलो तामझाका साथ एकै ठाउँमा हजारौ विरुवा रोपिन्छन्,’ सुवेदीले भने, ‘बिरुवा रोपिएको स्थान घेरवार पनि हुँदैन, जसका कारण वृक्षारोपण भएको दोस्रो दिन नै पशु चापायले सो स्थानमा रजाई गर्ने र बिरुवा नष्ट पार्ने गर्दछन् ।’ 

कस्तो स्थानमा कुन विरुवा रोप्ने भन्ने कुराको पनि प्राविधिक ज्ञान नहुँदा कुनै विरुवा सुक्ने र कुनै विरुवा पानीमा कुहिने गरेको उनले बताए । ‘कतिपय अवस्थामा जानीजानी बजेट सक्नैका लागि जहाँपायो त्यहीँ बिरुवा रोपेर बजेट स्वाहा पार्ने काम भइरहेको छ,’ उनले भने, ‘तर कतिपय अवस्थामा प्राविधिक ज्ञानबिना गरिएको बृक्षारोणका कारण पनि त्यो काम लाग्दैन, मुख्य कुरा संरक्षणकै अभाव देखिन्छ ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले पशुचौपाया नियन्त्रण गर्न नसक्दा हालसम्म गरिएको वृक्षारोपणबाट उपलब्धी हासिल गर्न नसकिएको बताए । रुख नभएको खुल्ला स्थानमा वृक्षारोपण गरी उजाड क्षेत्रलाई हराभरा बनाउने वनको नीति रहेको भए पनि त्यसको प्रभावकारीता खासै नभएको प्रवक्ता श्रेष्ठले बताए । ‘यसअघि गरिएका धेरै कार्यक्रम संरक्षण अभावका कारण सफल भएका देखिँदैनन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘आगामी दिनमा फरक तरिकाले वृक्षारोपण गर्ने योजना बनाएका छौं ।’

उनकाअनुसार आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले सामुदायिक वनसँग सम्झौता गरेर वृक्षारोपण गर्ने कार्यक्रम राखिएको छ । त्यसो गर्दा प्रदेश सरकारले बिरुवा उपलब्ध गराउने र सामुदायिक वनले त्यसको संरक्षण गर्नुपर्ने उनले बताए । यसैगरी खुला स्थानमा वृक्षारोपण गर्दा आगामी दिनमा तारवार गरेर हेराला तथा संरक्षणकर्मीको व्यवस्था गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ । 



शुक्रबार ०८, असोज २०७८ ०६:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.