नारायणकाजी माओवादीको जगेडामा, पठायो प्रवासमा

युग संवाददाता     750 पटक पढिएको    

नारायणकाजी माओवादीको जगेडामा, पठायो प्रवासमा

 


हाम्राकुराबाट ।


काठमाडौं  भदौं ११ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई जगेडामा पठाएको छ । केन्द्रीय नेताहरूको कार्य विभाजनमा क्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रवास विभागको जिम्मेवारी दिएर जगेडामा पठाएको हो । 

पार्टी अध्यक्ष प्रचण्डसँग असहमति राख्दै आएका श्रेष्ठले आफू प्रवक्ताबाट हट्ने बताएका थिए । त्यसपछि प्रचण्डले उनलाई तत्काल नहटाए पनि तीन दिनअघि भएको केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताबाट हटाएर प्रवासतिर पठाएका हुन् ।  

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरूको जिम्मेवारी तोक्दै माओवादीले श्रेष्ठलाई प्रवासको जिम्मेवारी दिएपछि उनी झन् रुष्ट बनेका छन् । 

गत आइतबारको बैठकमा नारायणकाजी श्रेष्ठले आफू प्रचण्डपछिको नेता भएको भन्दै प्रवक्ताको जिम्मेवारीबाट हट्ने बताएका थिए। गठबन्धन सरकारको मन्त्रिपरिषद् गठन भए देखिनै प्रचण्डसँग असन्तुष्ट रहेका श्रेष्ठले आइतबारको बैठकमा अचानक प्रवक्ताको जिम्मेवारीबाट हट्ने बताएका थिए। 

पहिला पार्टी ठुलो हुँदा नै प्रवक्ताको जिम्मेवारीमा रहेको र अहिले माओवादीभित्र प्रचण्डपछिको नेता भएकाले अबको जिम्मेवारी पार्टी प्रवक्ता भन्दामाथि हुनुपर्ने श्रेष्ठको दाबी थियो । तर प्रचण्डले उनलाई विदेश विभागको पनि जिम्मेवारी नदिई प्रवास विभाग भनेर जिम्मेवारी दिएका हुन् । माओवादीमा प्रवास भन्नाले भारत मात्रै बुझिन्छ । यद्यपि विदेशमा पार्टी सङ्गठन रहेका अन्य केही देश पनि समेटिने एक थरीको भनाई छ।

वर्तमान सरकारमा माओवादीको तर्फबाट नेतृत्व गर्ने मनसाय गरेको भए पनि प्रचण्डले उनलाई रोकेका छन् । आफैले मन्त्रीमा नजानुस् भन्नुभन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भन्न लगाएर प्रचण्डले नारायणकाजीलाई रोकेका हुन् । 

खास गरी श्रेष्ठले भौतिक योजना वा परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्रीको रूपमा सरकारमा जान चाहेका थिए । तर देउवाले महत्त्वपूर्ण मन्त्रालय माधव नेपालको पार्टीलाई दिनुपर्ने भएकाले अहिले नै श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र तथा भौतिक मन्त्रालय दिन नसकिने बताएका थिए । 

प्रचण्डसँग निहुँ खोजिरहेपछि अहिले श्रेष्ठ पक्षका नेताहरूलाई सरकार पठाउन पनि प्रचण्डले आनाकानी गरेका छन् । शशी श्रेष्ठलाई मन्त्री बनाउने उनको जोड रहे पनि प्रचण्डले राज्यव्यवस्था समितिको सभापति रहेको भन्दै आनाकानी गरेका थिए । त्यसपछि श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिने बताएका थिए । त्यस लगत्तै बसेको केन्द्रीय कमिटी बैठक बोलाएर प्रचण्डले कार्य विभाजन गरी श्रेष्ठलाई प्रवासतिर धकेलेका हुन् । 

त्यसपछि लगत्तै बसेको माओवादी केन्द्रीय कमिटी बैठकले प्रचण्ड निकट रहेका नेताहरूले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । प्रचण्ड निकट रहेको वर्षमान पुनलाई अर्थ विभागको प्रमुख बनाएका छन् भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, सङ्गठन विभागमा जनार्दन शर्मा प्रमुख रहेका छन् । 

श्रेष्ठलाई भने शर्मा र पुन भन्दा पनि विभागका हिसाबले सबैभन्दा कमजोर विभाग दिएर जगेडामा पठाएका हुन् । अहिले सबैभन्दा शक्तिशाली विभागको जिम्मा पुन र शर्माले पाएका छन् । उनीहरू दुवै एकर्कामा प्रतिस्पर्धी भए पनि प्रचण्ड निकट मानिएका छन् । यसै गरी स्कुल विभागको प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । 

यस्तै माओवादीले जन वर्गीय तथा सामुदायिक सङ्गठनका इन्चार्ज पनि तोकेको छ । माओवादीले रिक्त रहेका समिति र बाँकी केन्द्रीय सदस्यहरूको जिम्मेवारी पछि तोकिने पनि अध्यक्ष प्रचण्डले गरेको आन्तरिक परिपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेको छ । महराले लिएको जिम्मेवारीमा श्रेष्ठ थिए । उनलाई सो  आरोपबाट बिस्तारै बिस्तारै कम गराउने र पार्टी पङ्क्तिमा अभ्यस्त गराउने उद्देश्यका साथ सो जिम्मेवारी दिएको हो । 

माओवादीले समितिमा कतै इन्चार्ज मात्रै तोकेको छ भने कतै सह इन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । गत आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले छ प्रदेशमा इन्चार्ज तोकेको थियो । 

प्रदेश एक बाहेक अरू सबै प्रदेशमा इन्चार्ज तोकेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार प्रदेश २ मा गणेश साह, बागमती प्रदेशमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।



शुक्रबार ११, भदौ २०७८ ०८:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.