जुरे पहिरोपीडितले सात वर्षमा पनि पाएनन् राहत र न्याय

युग संवाददाता     677 पटक पढिएको    

जुरे पहिरोपीडितले सात वर्षमा पनि पाएनन् राहत र न्याय
फाइल तस्विर।

 

हाम्राकुराबाट


सिन्धुपाल्चोक साउन २४। हरेकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । सात वर्षअघि साउन १७ गते जुरे माथिबाट पहाड खस्दा जुरेका सिङ्गो बस्ती पुरियो भने १ सय ४५ जनाको ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरोपीडितले अहिलेसम्म पनि न्याय र राहत पाएका छैनन् । पीडा भुल्न नै सकेका छैनन् उनीहरुले ।

पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर बस्यो । पहिरोपीडितको राहत रकमका लागि पटक–पटक पहिरोपीडित जिल्ला प्रशासन कार्यालय धाए, गृह मन्त्रालयसम्म पनि धाइरहे । सात वर्षसम्म पनि जसका नाममा पैसा सङ्कलन भयो उनीहरूले नै पाएनन् । न त उनीहरूका लागि पुनर्वासको योजनाले नै मूर्तरूप लिन सक्यो ।

सात वर्ष बित्दासमेत आफूहरूको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकाप्रति जुरे पहिरोपीडित बलेफीका रामबहादुर तामाङले आक्रोश पोखे । पीडितको राहत रकम वितरणका लागि गृह मन्त्रालयदेखि जिल्लाका समितिले समेत अध्ययन समिति गठन गर्‍यो । तत्कालीन जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका प्रतिनिधिसमेत रहेका गैरसरकारी संस्थाका अध्यक्ष सोम सापकोटा, पत्रकार महासङ्घका अध्यक्ष युवराज पुरी र नापी कार्यालय प्रमुख शरद् मैनालीको अध्ययन समितिले तत्काल राहत वितरण गर्न प्रतिवेदन पेश गरेको समितिका सदस्य सापकोटाले बताए । त्यसपछि गृह मन्त्रालयको सहसचिव स्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले सुनाए ।

निर्वाचित प्रतिनिधिले राहत उपलब्ध गराउन प्रयत्न पनि गरे तर सार्थक हुन सकेन । “हामीले पीडितको नाममा रहेको राहत वितरण गर्न जिल्ला प्रशासनलाई आग्रह गर्‍यौं, दबाब दियौँ, ज्ञापन पत्र बुझायौँ तर पनि पीडितको सहयोग वितरण भएको छैन”, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको भनाइ छ ।

विसं २०७१ साउन १७ गते बिहान ३ बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठुलो पहिरो गएको हो । तीनैवटा स्थानीय तहमा ठुलो मानवीय र भौतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रूपमा लामो समय बन्द रह्यो । भोटेकोशी र सुनकोशी नदीको सङ्गम स्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिरोले १८ घण्टा नदी थुनिँदा जुरे आसपासमा आक्रान्त थियो । सबैको मनमा त्रास थियो । सुनकोशी नदी तटीय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेबाट काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिक लामो समय त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पुरै खाली गरिएको थियो । सानीमा जलविद्युत् आयोजना र सुनकोशी जलविद्युत् आयोजनाको बाँधसहित विद्युत् गृहसम्म क्षति पुग्यो ।

पहिरोपीडितको खाता फुकुवा भए पनि सङ्कलित रकम वितरण गर्ने वा पहिरोपीडितलाई घर नै बनाइदिने भन्ने टुङ्गोमा पुग्न नसकेपछि दैवी प्रकोप उद्धार समितिले सरोकारवाला तथा पीडितसँग पटक–पटक छलफल चलायो । पटक–पटकका छलफल सार्थक हुन सकेनन् ।

सात वर्षसम्म सरकारी खातामा जम्मा भएर बसेको रकमको आशमा बाँचेका अधिकांश पहिरोपीडितले दैवी प्रकोप उद्धार समितिसँग घर घडेरीकै माग गरेका छन् । केही पहिरोपीडितले भने रकम नै वितरण गर्नुपर्ने बताउँदै आएका छन् । सङ्कलित राहत रकम सबै पीडितलाई वितरण गर्दा थोरै रकम हात पर्ने भएपछि कतिपय पहिरोपीडितले सरकारले घर घडेरीको व्यवस्था गर्नुपर्ने आवाज उठाएका हुन् । पहिरोपीडितका पीडा राजनीतिक नारा मात्र बनिरह्यो । आफ्ना सरकार आए पीडितलाई रकम दिलाउने नारा बनाएका कम्युनिष्ट र कांग्रेस दुवैले जुरेपीडितलाई रकम दिलाउन भने सकेनन् । तत्कालीन सांसद मोहनबहादुर बस्नेतदेखि हालका सभामुख अग्निप्रसाद सापकोटासम्म आइपुग्दा जुरे पीडितको सम्बोधन गर्नमा सबै चुकेका छन् ।

विसं २०७६ मङ्सिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गर्‍यो । त्यसपछि सरकारले गरेको निर्णय स्वीकार नभएपछि फेरि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायले मन्त्रिपरिषद्को निर्णय मान्य नहुने जानकारी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 



आइतबार २४, साउन २०७८ १२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.