धनगढी, माघ २४ बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।
तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने–‘घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।’ बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।
शव बीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताए । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरामा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् । घटनास्थलमा तालीमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो । रासस
प्रतिकृया दिनुहोस