अख्तियारका कार्यवाहक प्रमुख आयुक्तले दिए राजीनामा

युग संवाददाता     1011 पटक पढिएको    

अख्तियारका कार्यवाहक प्रमुख आयुक्तले दिए राजीनामा

 


हाम्राकुराबाट
 

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। गणेशराज जोशीले राजीनामा दिएका छन् । आयोगमा प्रमुख आयुक्तमा प्रेमकुमार राईको नियुक्ति भएर शपथ भएपछि आयुक्त जोशीले राजीनामा दिएका हुन ।  उनी अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारीमा थिए । बुधवार नवनियुक्त प्रमुख राई पदभार ग्रहण गर्न अख्तियार पुग्नु अघि नै जोशी बिदा भएका हुन । उनी राईको स्वागतमा थिएनन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी वेदप्रसाद भण्डारीले जोशी आयोगबाट बिदा भएको पुष्टि गरे । ‘उहाँ आयोगबाट बिदा लिएर जानु भएको हो,’ नवनियुक्त प्रमुख आउँदा उहाँ गइसक्नु भएको थियो,’ आयोगका सहायक प्रवक्ता भण्डारीले हाम्रा कुरासँग भने ।

जोशीले राई आफू भन्दा तल्लो मर्यादाक्रममा आयोगमा रहेर काम गरेको र उनी प्रमुख आयुक्त भएर आए आफू आयोगमा नरहने यसअघि नै सङ्केत गर्दै आएका थिए । उनले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले बुधवार विज्ञप्तिमार्फत जानकारी दिएका छन्  ।

बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् । उनीहरूले बुधवार नै पदभार ग्रहण गरिसकेका छन् ।  पदभार ग्रहणमा आयुक्त सावित्री थापा गुरुङसहित सचिव र अन्य कर्मचारी सहभागी रहेको सहायक प्रवक्ता भण्डारीले भनेका छन् ।



बुधबार २१, माघ २०७७ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.