ओलीसँग भएको एकतामा आफूले देखाएको उदारता नै कमजोरी

युग संवाददाता     678 पटक पढिएको    

ओलीसँग भएको एकतामा आफूले देखाएको उदारता नै कमजोरी

 


 माघ ४ 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड(माधव  समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन् ।

काठमाडौँमा आइतबार भएको अनेरास्ववियूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले  पार्टीको एक नेताले अल्पमतमा परेपछि सजिलै छाडिदिएको भए पार्टी फुट्न अवस्था नै आउने थिएन भने ।
 
मुलुकमा प्रतिनिधिसभा विघटन गरी संविधानमाथि  प्रहार भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री दाहालले अब हुन सक्ने षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीलाई आह्वान गरे ।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले भने, ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो । आक्रामक हुनुपर्‍यो । बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो । प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो ।’ शाकाहारी आन्दोलनले पुग्ने नदेखिएको प्रचण्डको भनाइ थियो ।

उनले प्रतिनिधिसभा र पार्टीको आधिकारिकताका विषयमा अदालत र निर्वाचन आयोगप्रति आफ्नो विश्वास रहेको र सबैभन्दा बढी भरोसा जनतामा रहेको जनाए ।
     
उक्त कार्यक्रममा  पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत र निर्वाचन आयोगले तजबिजीभन्दा पनि कानून र संविधानका आधारमा निर्णय लिने विश्वास व्यक्त गरे ।

नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावलले र सुरेन्द्रप्रसाद पाण्डेले प्रतिगमनविरुद्धको हरेक मोर्चामा युवा विद्यार्थी अग्रपङ्तिमा रहेको इतिहास स्मरण गर्दै यसपालि पनि फेरि विद्यार्थी जाग्ने बेला आएको बताए ।

अर्का नेता हितमान शाक्यले प्रतिनिधिसभा विघटन संविधानविरुद्ध सशक्त प्रतिकार गर्न आग्रह गरे ।



सोमबार ०५, माघ २०७७ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.