पूर्वराजा शाह जिम्मेवारी लिन तयार

युग संवाददाता     896 पटक पढिएको    

पूर्वराजा शाह जिम्मेवारी लिन तयार


हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ’

काठमाडौं पुस २७। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक समीक्षा गर्न ढिलाई भइसकेको उल्लेख गरेका छन् । उनले पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राजनीतिक समीक्षा गर्न ढिलाइ भइसकेको भन्दै आफू जनचाहना बमोजिम अघि बढ्न तयार रहेको उल्लेख गरेका हुन् । 

उनले शाहवंशीय राजपरम्पराको विशेषता जनचाहनाअनुसार अगाडि बढ्ने उल्लेख गर्दै सडकबाट आएका ‘राजा आउ देश बचाऊ’ नारालाईसमेत सम्वोधन गर्दैै यदि जनचाहना आफू आउने नै रहेको छ भने त्यो जिम्मेवारी बहन गर्न आफू तयार रहेको उल्लेख गरेका हुन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारले बेथिति र असंवैधानिकमात्र काम गरिरहेको सन्दर्भमा सडकमा राजसंस्थाको चाहना घन्किरहेका बेलामा ती सबै विषयमा आफ्नो धारणा राख्दै पूर्वराजाले सन्देशमा भनेका छन्, ‘अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’

पूर्वराजाको पक्षमा नारा घन्किँदासमेत उनी चुप लागेर बस्दै आएका थिए । तर सोमबार परेको पृथ्वीनारायण शाहको २९९ औं जयन्तीको अवसर पारेर आइतबार साँझ उनले सबै पक्षलाई सम्वोधन गर्दै राजनीतिमा बेथिति निम्त्याउने र गणतन्त्रका नाममा देश लुट्ने ओली सरकारमाथि ठाडो प्रहार गरेका छन् । 

उनले जनताले चाहे आफू आउन तयार रहेको उल्लेख गर्दै ओली सरकारका दिनगन्ती शुरु पो भइरहेका हुन् कि भन्ने पनि अनभूति दिलाएका छन् । 

उनले विदेशीको इशारामा नेताहरु चलेकोतर्फ सावधान गराउँदै ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको छ’, भनेका छन् । 

राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्नेमा पूर्वराजाको सन्देशमा यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ भनिएको छ । पृथ्वी जयन्तीको सार्थकता पनि रहने आफूहरुको मान्यता रहेको जनाइएको छ । 

सन्देशमा भनिएको छ, ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरणमात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं ।’

सन्देशमा अगाडि भनिएको छ, ‘तर त्यो समय केबल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाटमात्र सम्भव थिएन । दैवीक आशीर्वाद, अध्यम्, साहस, पौरख र कुटनीतिक कौशलको अद्धितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो । नेपालको निर्माणमा अनेक जातीय भाषिक र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान छन् । 
संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् । तर नेपाल विश्वको एकमात्र त्यस्तो मुलुक हो जुन सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज हो । त्यसैले आज पनि राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका मिम्ति बक्सेको दिव्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महशुस हामी सबैले गरेका छौं ।’ 

पूर्वराजाले जिम्मेवारी लिन तयार रहेको बताइरहँदा उनलाई कसले जिम्मेवारी बुझाउँछ भन्ने प्रश्न टड्कारो बनेको छ । ओली सरकार असंवैधानिक भइरहँदा र दलहरुले आफ्नो भूमिका बिर्सिदा पनि राजावादीहरुलाई यस्तो किसिमको ठाउँ मिलेको बताइन्छ । 



सोमबार २७, पुष २०७७ ११:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.