भालुबाङ राजधानी सार्ने प्रस्तावको चर्को विरोध, तोडियो कर्फ्यू पनि

Yugnepal     1346 पटक पढिएको    

भालुबाङ राजधानी सार्ने प्रस्तावको चर्को विरोध, तोडियो कर्फ्यू पनि

रुपन्देही। प्रदेश नं ५ को राजधानी दाङको भालुबाङ सार्ने प्रस्तावको विरोध गर्दै रुपन्देहीमा निषेधाज्ञासमेत तोडिएको छ। जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले बुटवलका मुख्य स्थानलाई निषेधित क्षेत्र घोषणा गरे पनि कर्फ्यू तोडेर आन्दोलनकारीहरु सडकमा उत्रेका छन्। आइतबार बिहान चौराहाबाट ठूलो संख्यामा आन्दोलनकारीहरु पुष्पलाल पार्कमा पुगेका छन्। 

सुरक्षा व्यवस्था कडा पारिएको भए पनि बुटवलमा भएको अस्थायी राजधानीलाई स्थायी नै बनाउनु पर्ने मागसहित संयुक्त संघर्ष समिति सडकमा उत्रिएको हो। शुक्रबारदेखि नै सडक तातेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति एक सूचना जारी गर्दै बुटवलस्थित प्रदेश सभा भवन, मन्त्रालय र मुख्य सरकारी कार्यालय रहेका स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गरेको हो।


रुपन्देही प्रशासनले ५ जना भन्दा बढी जम्मा हुन नपाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनले यही असोज १८ गते आइतबार बिहान ६ बजे देखि २१ गते साँझ ६ बजे सम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोक सम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक सम्म ५ जना भन्दा धेरै भेला हुन नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बताएको छ। यस्तै मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्र भित्र भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरेको छ।



आइतबार १८, असोज २०७७ ०३:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal