एकै साथ सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण

Yugnepal     757 पटक पढिएको    

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।
 
यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । 

साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । 

नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।
  
दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको  थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । 

सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए ।  सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् । 



मङ्गलबार ०२, भदौ २०७७ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal