आज सुदूरपश्चिममा  ओल्केपर्व मनाईदै

Yugnepal     1193 पटक पढिएको    

 

  सुदूरपश्चिममा आज भदौ १ गते  ओल्केपर्व मनाइदैछ । पिडालुको हरियो पात ‘गाभा’ लाई आजको दीन बिषेश महत्वका साथ घरघरमा भित्र्याएर त्यसको परिकार बनाई खाने प्रचलन छ । 
    आजको दीन घरमा शान्तिको कामना गर्दै आँगनमा गाभा फाल्ने प्रचलन छ । यसै गरी खेतमा वाली सप्रियोस भनेर खेतमा हरिया ‘गाभा’ तथा अन्य फलका हाँगा ओलक हाल्ने चलन छ । सुदूरपश्चिमका पहाडी जिल्लामा ओलकका रुपमा पिडालुको ‘गाभा’, संगै सियो तथा फलामबाट बनेका सामाग्री घरको आँगनमा राख्ने प्रचलन रहँदै आएको छ । 
  साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्व मनाइन्छ । यहाँ साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइन्छ ।   ओल्के पर्वलाई बर्षकै जेठो पर्वका रुपमा मनाइने गरिन्छ । ‘ओल्के’ पर्वलाई आफु संग भएको मिठो मसिनो खानेकुरा अरुलाई बाँड्ने पर्वका रुपमा मनाइने गरेको छ । ओल्केमा आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने पुरानो मौलिकता रहेको  छ । संस्कृतिविद डा। टीएन जोशीका अनुसार ‘ओल्को’ भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु भन्ने बुझिन्छ । आजका दिनदेखि बिभिन्न देवस्थलहरूमा देवताको आह्वानस्वरूप चैत९धमारीको शुभारम्भ पनि हुन्छ । आजका दिनदेखि बूढी ९ पुतनाको प्रतीक० बाँड्ने चलन पनि छ  । 
डा। जोशीले भने–‘बिभिन्न बनस्पति तथा हरियो साग मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने चलन पनि छ । वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा हरियो सागपात दिएर सद्भाब बाँडिन्छ  । विशेषगरि मान्यजनलाई पिडालुका पात,काँक्रा, भाण्टा,मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ । आजका दिन डोटेली संस्कृतिमा ’फाँणो भात’ ,’गतानी डुब्का’, ’ भक्के रोटो’ खाने र रमाइलो गरि नाँचगान गर्ने चलन पनि रहेको डा। टीएन जोशी बताउँछन । 
   उनका अनुसार समग्रमा आसुरी ९ राक्षसी० प्रबृत्तिको विनास गरि सत्यको पक्ष स्वीकार्ने चलनको रूपमा यो पर्व सुदूरपश्चिमका पहाडी समुदायमा मनाइदै आएको छ । आज ओल्केकै दिन गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गोसमेत गाड्ने गरिन्छ।ओल्केका दिन गाडिएको लिङ्गो भदौ मसान्तमा जलाउने चलन छ । भदौ मसान्तका दिन जलाउने लिङ्गोलाई ’बूढी पोल्ने’भन्ने गरिन्छ । बिगतमा वर्षायाममा दादुरा,झाडापखाला,हैजा, लुतोजस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुशी साँट्न ओल्के त्यार मनाइदै आएको पाइन्छ । श्रावण महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै आजका दिनदेखि सुदूरपश्चिमेली जनजीवनमा गौरा र तीजजस्ता पर्वको रमझम पनि शुरू हुन्छ ।
    विषेशगरी ‘ओल्के’ पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणा लगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
    भदौ १ गते दिनमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने सुदूरपश्चिमको परम्परा छ । सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहेपनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे त्यति खासै जानकारी नभएको साहित्यकार पदमराज जोशी बताउँछन । उनले भने–‘ओल्केको छुट्टै महत्व छ, नयाँ पुस्तालाई यसको महत्वका बारेमा जानकारी गराई जगेर्ना गर्न आवश्यक छ ।’
 सुदूर पहाडको मौलिक पर्वको रुपमा रहेको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरु समेत फर्कने गर्छन् । ओल्के पर्वमा कामका लागि बाहिरिएकाहरु समेत घर फर्कने गरे पनि यसपालि भने कोरोनाका कारण घरमै रहेकाहरु परिवारसँगै ओल्के पर्व मनाउन थालेका छन् ।  



सोमबार ०१, भदौ २०७७ ११:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.