असन्तुष्ट नेतालाई आफ्नै निवासमा बोलाएर सम्झाउदै प्रचण्ड

Yugnepal     893 पटक पढिएको    

असन्तुष्ट नेतालाई आफ्नै निवासमा बोलाएर सम्झाउदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद बढ्दै गएपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षका असन्तुष्ट नेताहरुलाई निवासमा बोलाएर सम्झाउन थालेका छन् । विहिबार साँझ प्रचण्डसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरुलाई खुमलटारमा डिनरसहितको निम्तो दिइएको थियो । खुमलटार पुगेका असन्तुष्ट नेताहरुलाई अध्यक्ष दाहालले अहिलेको विवादबारे र पार्टी एकताको शुरुको अवस्थाबारे सम्झाएका थिए । 

खुमलटारमा प्रचण्डले जनार्दन शर्मा, मणी थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणी खनाल लगायतका नेताहरुलाई बोलाएर सम्झाएका थिए । केही दिनदेखि उनीहरु प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टी राख्दै आएका थिए । उनीहरु तत्कालै केपी ओलीको सरकार ढाल्न नहुने पक्षमा रहेका थिए । ओली सरकार ढालेर प्रचण्डको बन्दा पनि खास सहयोग नहुने भएकाले अहिलेको अवस्थामा ओलीसँगै मिलेर अधिकतम उपलब्धी लिनुपर्ने उनीहरुको जोड थियो । 

‘हामी केही साथीहरु साँझ खुमलटार गएका थियौ त्यहाँ वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र उत्पन्न पछिल्लो अवस्थाबारे छलफल भयो’, स्थायी कमिटी सदस्य समेत रहेका हरिबोल गजुरेलले भने । प्रचण्डले केही अस्पष्ट रहेका विषयमा स्पष्ट पारेका पनि उनले बताए । 

उनीहरुले तत्कालै केही उपलब्धी नहुने भएपछि ओली सरकारलाई ढाल्ने वा पार्टी अध्यक्षबाट हटाउनेतिर नलागी पार्टीभित्र अधिकतम उपलब्धी लिन प्रचण्डलाई सुझाव दिएको स्रोतले जनाएको छ । उनीहरुले एकता महाधिवेशन बेला मात्रै नीतिगत बहस गर्नुपर्नेमा अहिलेनै जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भनेर बहस गरेर कित्ताकाट पनि गर्नु नहुने सुझाव दिएका थिए । उनीहरुले बैचारिक हिसाबले मत विभाजन नगरी पार्टीको समग्र नेतृत्व लिन प्रचण्डलाई सुझाव दिएका थिए । 

प्रचण्डले पनि आफू ओलीको विरोधी नभएको तर उनको स्वेच्छाचारिता, अहंकार र घमण्डलाई भने पार्टीभित्रको विधि विधान अनुसार ल्याउन लागिपरेको भन्दै सम्झाउने कोसिस गरेका थिए । पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि केपी शर्मा ओली र प्रचण्डवीच दुरी बढ्दै गएको छ । पछिल्लो पटक त उनीहरुले आपसी सम्वाद समेत गरेका छैनन ।



शुक्रबार १६, साउन २०७७ ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.