तेज तिर्थ ट्रष्टद्धारा निर्मला आचार्य, शिव कंगाल, योगेन्द्रमान श्रेष्ठ र नारायणदेवी श्रेष्ठ पनि पुरस्कृत
काठमाडौं । हाम्राकुरा प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
तेज तिर्थ ट्रष्टले प्रधानसम्पादक शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए ।
एक लाख राशीको यो पुरस्कार सिवाकोटीसँगै राष्ट्रिय समाचार समितिकी पहिलो महिला महाप्रवन्धक वरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ ।
दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने नेपालले जनाए ।
यसअघि शिवाकोटीलाई अन्तर्राष्ट्रिय पत्रकारहरुको नेपाली संस्था इन्जाले एक हजार अमेरिकी डलरको इन्जा साहसिक पत्रकार पुरस्कार प्रदान गरेको थियो ।
त्यस्तै शिवाकोटीले कानुन पत्रकारिता पुरस्कार पनि पाएका थिए । शिवाकोटी नेपाल प्रेस युनियनका महासचिवसमेत हुन् ।
तेज तिर्थ ट्रष्टका अन्य पुरस्कारहरु
ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार भने प्रजातन्त्र सेनानी शिव कंगाललाई दिने निर्णय गरेको छ ।
पञ्चायत विरुद्वको आन्दोलनका योद्वा कंगाललाई विगत पाँच दशक यता मूल्य र मान्यताको राजनीतिमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो । यो पुरस्कारको राशी पनि एक लाख र प्रमाणपत्र रहेको छ ।
त्यसैगरी जनही पचास हजार पुरस्कार राशी र र प्रमाण पत्र रहेको जुजुभाई नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छनोट समितिका संयोजक, सांसद एवं पूर्व मन्त्री भिमसेनदास प्रधानले जानकारी दिए ।
उनीहरुलाई नेपाल भाषाको इतिहास र साहित्य तर्फ पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रधानले बताए ।
प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार प्रदान गर्ने व्यक्तिहरुको छनोट गरेको हो ।
हरेक बर्षको गणतन्त्र दिवसका अवसरमा प्रदान गर्ने गरिएको यो पुरस्कार यस बर्ष भने कोरोना भाईरसको महामारी सामान्य भएपछि प्रदान गरिने ट्रष्टले जनाएको छ ।
पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा एक करोड रुपैयाँ राशीको कोष स्थापना गरेका हुन् ।
त्यसैको व्याजबाट हरेक वर्ष, तीन विधामा पुरस्कार वितरण गरिँदै आएको छ ।
प्रतिकृया दिनुहोस