सेनाको हेलिकप्टर कालापानी जादै सशस्त्र प्रहरी

Yugnepal     1276 पटक पढिएको    

सेनाको हेलिकप्टर कालापानी जादै सशस्त्र प्रहरी

दार्चुला । सिमा क्षेत्रको सुरक्षा जिम्मेवारी पाएको सशस्त्र प्रहरी बन्दोबस्तीका सामान सहित हेलिकप्टर मार्फत कालापानी क्षेत्र जाने भएको छ। यो क्षेत्र कालापानी भन्दा १२ किलोमिटर वरै हो। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङ्गरुको ९गागा० मा सशस्त्रको बोर्डर आउट पोस्ट ९बीओपी० राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुध(बिहीवार सम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो । भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक उद्घाटन गरेपछि सरकारले अहिले तत्काल व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो । 

कालापानी भौगोलिक हिसाबले विकट भएका कारण नेपाली सेनाको हेलिकोप्टरमार्फत बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली तीन(चार दिनमा छाङ्गरु पुग्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए । ‘सशस्त्र प्रहरीले यसअघि नै बीओपी पोस्ट राख्ने तयारी गरेको थियो । तर, अहिले भारतले सडक नै निर्माण गरेपछि तत्कालै जानुपर्ने अवस्था आएको हो,’ गुल्मपति विष्टले भने ।

सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मीको टोली कालापानी क्षेत्र जान लागेको हो । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा छाङरुमा ३५ जना सुरक्षाकर्मीको टोली खटाउने गरि तयारी भइरहेको उहाले बताए । ‘सशस्त्र प्रहरी बल मुख्यालयबाट कालापानी सीमा सुरक्षा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन भएको छ । हामी त्यहीअनुसारको तयारीमा छौँ,’ उहाले भने । यसका लागि मेडिकल उपकरण, हातहतियार व्यवस्थापन, मौसमी प्रतिकूलता विरुद्ध जुध्ने अन्य उपकरण लगायत बन्दबस्तीका अन्य सामग्रीहरु व्यवस्थापन गर्न सशस्त्र प्रहरीले कार्ययोजना बनाउन थालेको छ । छाङरु समुद्री सतहबाट ३ हजार ६ सय मिटर उचाइमा पर्छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक, लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा पर्छ ।

लिपुलेकमा भारतको एकतर्फी सडक
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने धार्मिक तीर्थस्थल मानसरोवर जाने सडक मार्ग सुरु गरेको छ । शुक्रवार भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भुमि हुदै मानसरोवर जाने गर्वाधार लिपुलेक सडकको उद्घाटन गरेका हुन् । कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको ट्वीट मार्फत जनाएका हुन् ।
नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि सडक देखि सदन संग विरोधसमेत भइरहेको छ ।

भारतले उद्घाटन गरेको सडक १२ वर्षअघि देखि बन्दै थियो
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक १२ वर्षअघि निर्माण सुरु गरिएको थियो । भारतको पिथौरागढ जिल्लाको धारचुला देखी नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक सन् २००८ मा निर्माण सुरु गरेको बुझिन आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए । उक्त सडकको करिब १७ किलोमिटर नेपाली भूमिमा पर्छ । १२ वर्ष पहिले भारतको धारचुलाबाट निर्माण सुरु भए पनि कालापानी क्षेत्र अर्थात् नेपाली भूभागमा १७ किलोमिटर सडक कहिले बन्यो भन्ने जानकारी नभएको उनले बताए । भारतिय रक्षामन्त्रीले सो सडक उद्घाटन गरेपछि मात्र यो विषय सार्वजनिक भएको हो । नेपाली भूभाग फिर्ता भएमा त्यो सडक समेत नेपालमै आउने भएकाले सडक निर्माण भन्दा पनि त्यो भूमि फिर्ता गराउने विषयलाई जोड दिइनुपर्ने उहाको भनाइ छ । 

नेपालका कुटि, नाभी र गुन्जी भारतमै गाँभिए
नेपाली भुमि व्याँस गाउँपालिकाको लिपुलेक र कालापानी क्षेत्रका तीन गाउँ भारतमै गाभिएका छन् । सो क्षेत्रमा पाँच गाउँ थिए– कुटी, नाभी, गुन्जी, छाङरु र टिंकर । अहिले ती मध्ये कुटी, नाभी र गुन्जीका बासिन्दाहरुसंग भारतीय नागरिकता र आधार कार्ड छ । उनीहरुका लागि भारत सरकारले उच्च सुविधा दिएको छ । २०१८ सालमा जनगणना गरिएका र बैतडी मालपोत कार्यालयमा राजस्व बुझाएका अतिक्रमित भूमिका तीन गाउँका बासिन्दालाई भारतले आफ्नो नागरिक बनाएको हो ।

२०१८ सालमा भैरव रिसालले लिम्पियाधुरा, लिपुलेक र कालापानीका यी गाउँका वासिन्दाको गणना गरेका थिए । जनगणना र उनीहरूले नेपालका अड्डामा राजस्व बुझाएका कागजपत्र कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको प्रष्ट प्रमाण हुन् । त्यसक्षेत्रमा रहेका पाँच गाउँ मध्ये अहिले व्याँस गाउँपालिका–१ का छाङरु र टिंकर दुई गाउँ मात्रै नेपालमा छन् । 

६ महिना मात्रै राज्यको उपस्थिति
भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक, कैलाश मानसरोवरको प्रवेशद्धार, अपि नाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र सुरक्षावीहिन बन्ने गरेको छ । सामरिक महत्व र सुरक्षाका दृष्टिले संबेदनशील मानिएको सीमा क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट कडाइका साथ सुरक्षाकर्मी तैनाथ गरिएको छ । समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको व्याँस गाउँपालिका–१ तिंकरमा ६५ तथा छांगरुमा १०५ घरधुरी व्याँसी समुदायको बसोबास छ । उनीहरु पनि चिसो छल्न हिउँदमा सदरमुकाम खलंगा बस्ने गर्छन् । करिव एक हजार जनसंख्या भएको क्षेत्र हिउँदयाममा नेपाली सुरक्षाकर्मीको उपस्थिती हुने गरेको छैन् । छाङ्रु र तिंकरका बासिन्दा ६ महिना मात्रै त्यहा बस्ने गरेका छन् ।

रक्षामंत्री छाङरुको आकाशबाटै फर्के
गत फागुन ५ गते दार्चुलाको उत्तरी क्षेत्र कालापानीको अवलोकन निरीक्षण गर्न निस्केका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल व्याँस गाउँपालि १ छाङरुको आकाशबाटै फर्किए । त्यो समयमा बाक्लो हिउँ जमेका कारण हेलिकोप्टर ल्याण्ड हुन नसकी आकाशबाटै हवाइ निरीक्षण गरि फर्केका हुन् । उनले हेलीकोप्टर भित्रैबाट छिमेकी भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट हेरेर पुनः सदरमुकाम फर्के ।



मङ्गलबार ३०, बैशाख २०७७ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.