नेपाल विद्यार्थी संघ ५१औँ वर्षमा प्रवेश शैक्षिक विकृतिविरुद्ध खबरदारी -  अध्यक्ष ढुङ्गाना

Yugnepal     933 पटक पढिएको    

नेपाल विद्यार्थी संघ ५१औँ वर्षमा प्रवेश शैक्षिक विकृतिविरुद्ध खबरदारी -  अध्यक्ष ढुङ्गाना


काठमाडौं। नेपाल विद्यार्थी संघ ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गरेको छ। नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा रहेको सबैभन्दा प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी संघ आजबाट ५१ वर्षमा प्रवेश गरेको हो।

नेपाल विद्यार्थी संघको ५१औँ वर्ष प्रवेशका उपलक्ष्यमा अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सम्पूर्ण विद्यार्थीहरूमा शुभकामना व्यक्त गरेका हुन्। अध्यक्ष ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

‘सर्वप्रथमत् नेविसंघद्वारा विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोनमा वीरगति प्राप्त गर्ने वीर शहीदहरूलाई श्रद्धापूर्वक स्मरण गर्दछु, त्यस्तै आजभन्दा ५ दशकअघि नेवि संघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापना गर्नु हुने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु,’ ढुङ्गानाले विज्ञप्तिमा भनेका छन्।

नेपालका लोकतन्त्रवादी विद्यार्थीहरुको ढुकढुकी नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरी ५१औँ वर्ष प्रवेश गरेको अवसरमा देशभित्र र बाहिर रहेका विद्यार्थीहरुमा आफ्नो हकहितकप्रति जागरुक हुँदै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्न ढुङ्गानाले आह्वान गरेका छन्।

नेवि संघका सम्पूर्ण संस्थापकहरुलाई स–सम्मान स्मरण गर्दै नेवि संघका स्थापनाकालदेखि आजसम्म संघको विभिन्न तहको नेतृत्व पंक्तिमा रहेर कार्य गर्ने र अहिलेको अवस्थासम्म ल्याइ पुर्‍याउन साथ दिने सम्पूर्ण व्यक्तित्वहरुलाई अध्यक्ष ढुङ्गानाले स्मरण गरेका छन्।

‘आज हामीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा सिंगो विश्व कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणले आक्रान्त छ, यसबाट लाखौँ संक्रमित भएका छन्, मृतकहरु पनि दिनानुदिन बढी रहेका छन्,’ अध्यक्ष ढुंगानाले भनेका छन्, ‘संसारभरि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पूर्ण संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

संकटको घडीमा सिंगो राष्ट्र एकजुट भइ महामारीको सामना गर्न आह्वान गर्दै ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकारसँग आग्रह गरेका छन्। लोकतान्त्रिक मूल्य र मान्यताका सवालमा कहिल्यै कसैसँग नझुक्ने तथा विद्यार्थी हकहितका सवालमा सधैँ अग्रपंक्तिमा रहेर संघर्ष गर्ने नेविसंघको क्रान्तिकारी छविलाई अझ उच्च बनाउन आ–आफ्नो ठाउँबाट थप योगदान दिन नेवि संघको कार्यकर्ता पङ्क्तिलाई अपील गरेका छन्।

‘नेवि संघलाई अझ बढी प्रशिक्षित र अनुशासित संगठनका रुपमा रुपान्तरण गरी वर्तमान सयमका हरेक चुनौतीहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा नेवि संघलाई स्थापित गर्न सबै साथहरुको हातेमालो आवश्यक छ, त्यसकारण यस सामूहिक प्रयत्नमा जुट्न सबै साथीहरुलाई आह्वान गर्दछु,’ ढुङ्गानाले भनेका छन्।

नेपाली कांग्रेसका संस्थापक तथा नेताहरू बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुले देखाएको बाटोमा नेवि संघ निरन्तरअघि बढ्ने ढुङ्गानाले प्रष्ट पारेका छन्। ‘पार्टी सभापति शेरबहादूर देउवा तथा नेपाली कांग्रेस केन्द्रीय समितिको मार्गनिर्देशनले हाम्रो बाटो सहज बनाउने छ, समग्र नेपाली विद्यार्थीहरुको भावना हाम्रो निम्ति हरेक काम गर्न उर्जा र दृढताको स्रोत हुनेछ,’ ढुङ्गानाले विज्ञप्तिमा भनेका छन्।



शनिबार ०६, बैशाख २०७७ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal