संसारमा कुनै भ्याक्सिन वा प्रभावकारी उपचार नभएको भाइरल रोग कोविड-१९ को सामना गर्नुपर्दा मानिसहरू त्रसित छन्। कोरोना भाइरस महामारीको आर्थिक प्रभाव धेरैजसो श्रमिक वर्गमा छ । अमेरिकामा मात्र विगत तीन हप्तामा १ करोड भन्दा बढी बेरोजगार भए ।
माइक्रोसफ्टका संस्थापक बिल गेट्सदेखि श्वासप्रश्वासका वैज्ञानिक डाक्टर, डा.फौसीले दिनदिनै कोरोना बिरूद्ध खोपको बारेमा कुरा गर्दछन। ट्विटरका सीईओ ज्याक डोरसीले कोरोनाभाइरस बिरूद्ध लड्न आफ्नो १ अरब अमेरिकी डलर, त्यसै गरी बिल र मेलिंडा गेट्सले कोरोनाभाइरस बिरूद्ध खोप अनुसन्धान र उपचार गर्न १ करोड अमेरिकी डलर, बिल गेट्सले आफुले मात्रै ५० करोड अमेरिकी डलर, चीनका धनी व्यक्ति ज्याक माले १.५ करोड अमेरिकी डलरको वाचा गरेका छन्। यी घोषणाले उनीहरूको परोपकारी भावना मात्र देखाउँदैन कि कोविड-१९ मानव समाजको लागि कति खतरनाक छ भनेर पनि देखाएको छ ।
आउनुहोस यसै सन्दर्भमा अहिलेसम्म विकास भएका खोपको बारेमा चर्चा गरौं। यो स्पष्ट छ कि खोपले विश्वव्यापी स्वास्थ्यमा क्रान्ति ल्याएको छ। यथार्थ रूपमा चिकित्साको इतिहासमा भ्याक्सिन (खोप)लाई सबैभन्दा जीवन बचाउने आविष्कार मानिन्छ । खोपद्वारा बिफरको उन्मूलन गरिएको छ, बच्चाको मृत्यु दर घटाएको छ । पोलियो जसले आजीवन अक्षम बनाउने रोगलाई उन्मूलन गरेको छ । खोप बिकास गर्ने प्रारम्भिक प्रयासहरू १६ औं शताब्दीतिर चीनबाट विकसित भयो । उनीहरुले बिफर घाउ लागेर सुकेको छालालाई घोटेर धुलो बनाएर बिफर नलागेको मान्छेको नाकमा सुघाऊथे, अनि त्यो व्यक्ति बिफर प्रतिरक्षा गर्न सक्ने हुन्थ्यो ।
चिनियाहरुको जस्तै बिधि प्रयोग गरी १८ औं शताब्दीका अंग्रेजी चिकित्सक, एडवर्ड जेनरले “काउपक्स (cowpox)” भन्ने गाईवस्तुबाट फैलिने एक प्रकारको रोग बिरूद्ध खोप विकास गरे । जेनरले पहिलेनै काउपक्स लागेकी महिलाको हातको पिप निकालेर एक आठ वर्षको बालकको पाखुरामा सानो घाउ बनाई त्यो घाउमा ति महिलाको पिप लगाई दिए । छ हप्ता पछि, उक्त बालकको शरीरमा बिफरको (smallpox) जीवाणु छिराए, तर बालक बिफरबाट संक्रमित भएन । २० पटक भिन्न भिन्न समयमा त्यो बालकको शरीरमा बिफरको जीवाणु छिराउदा पनि उसलाई बिफरको संक्रमण भएन । यस तरिकाले जेनरले पहिलो पटक खोपको बिकाश गर्ने तरिका प्रमाणीत गरे ।
त्यसपछिका वर्षहरूमा, जेनरले उक्त बालकलाई गरे जस्तै प्रयोग थप २३ अन्य मानिसहरुमा पनि गरे, खुसीको कुरा ति सबै मानिसहरु बिफरको संक्रमणबाट बच्न सफ़ल भए । यसरी जेनरले काउपक्सको प्रतिरोधात्मक क्षमताले वास्तवमै बिफरबाट पनि बच्न सकिन्छ भन्ने सिद्धान्तलाई प्रमाणीत गरे । जेनरको खोप तुरुन्तै विश्वभरि बिफर रोक्नको प्रमुख साधन भयो । उनलाई इम्यूनोलजीको पिता पनि भनिन्छ । गज्जब त के भयो भने केही देशहरूले बिफर बिरूद्ध खोप लगाउन अनिवार्य गरे ।
त्यसको लगभग एक शताब्दीपछि, जेनरको जस्तै प्रविधिको प्रयोग गरेर, सन् १८८५ मा फ्रान्सेली जीव वैज्ञानिक लुइस पाश्चरले रेबीज भाइरसको बिरूद्ध खोप विकास गरे । नौ वर्षको बालकलाई पागल कुकुरले टोकेपछि ति बालकलाई १३ दिनसम्म कमजोर रूपको रेबीज भाइरसको ईन्जेक्सन दिए र उक्त बच्चालाई बचाए । त्यसपछि ति बालकलाई कहिल्यै रेबीजले संक्रमण गरेन । यसरी लुइस पाश्चरले आफ्नो थेरापीलाई “रेबीज खोप” नामकरण गरे । लुइस पाश्चरको विश्वव्यापी प्रभावको कारण खोप शब्दको विस्तार भयो । खोप भन्नाले संक्रामक रोगको बिरूद्ध प्रतिरक्षा उत्पादन गर्न सामान्यतया इन्जेक्शनको रूपमा दिइने सक्रिय, कमजोर वा मारेका भाइरसहरू भनेर बुझ्नु पर्छ ।
२० औं शताब्दीको उत्तरार्धमा विज्ञानको प्रगतिले गर्दा खोपहरूको व्यापक बिकास भयो । खोपहरूले गर्दा लहरे खोकी (Wooping cough) (सन् १९१४), भ्यागुते रोग (diphtheria)( सन् १९२६), टिटानस (सन् १९३८), इन्फ्लूएन्जा (सन् १९४५) र मम्प्स (सन् १९४८) जस्ता रोगहरुबाट धेरै मानिसको ज्यान बच्न सफल भएको छ । त्यसपछि पोलियो (सन् १९५५), दादुरा (सन् १९६३), रुबेला (सन् १९६९) र अन्य भाइरसहरूको खोपहरू क्रमिक रुपमा बिकाश गरियो ।
व्यापक स्वास्थ्य अभियानको कारण सन् १९६०-८० को दशकमा विश्वव्यापी खोप लगाउने दर नाटकीय रूपमा वृद्धि भयो । गज्जबको कुरा त के भने बिफर विरुद्ध पहिलो खोप लगाएको २ सय वर्षपछि सन् १९८० मा संसारबाट यसको निर्मूलनको घोषणा गरियो । यसले कुनै रोग निर्मूल गर्न कति धेरै समय लाग्न सक्छ भनेर देखाउँछ । अन्य संक्रामक रोगहरूको उन्मुलनको लामो यात्रामा अझै कति समय खर्चिनु पर्ने हुन्छ यसबाट अुनमान लगाउन सकिन्छ।
सन् १९९० को दशक पछि अन्तराष्ट्रिय खोप कार्यक्रमको प्रगति ठप्प प्राय भयो। विकासोन्मुख देशहरूमा लाखौ बच्चाहरूलाई घातक रोगहरू विरूद्ध पूर्णरूपमा खोप लगाइएको थिएन भने अरू धेरैलाई कुनै पनि खोप लगाइएको थिएन। समस्या के थियो भने नयाँ खोपहरू उपलब्ध भइरहेका थिए तर विकासोन्मुख देशहरूले ति खोपहरूलाई किन्न सक्थेनन । खोपको मूल्यमा उल्लेखनीय वृद्धी भएको थियो ।
सन् २००० मा बिल र मेलिंडा गेट्स फाउन्डेशन र अन्य साझेदारहरू खोपका लागि विश्वव्यापी गठबन्धन स्थापना गर्न भेला भए जसलाई “Gavi” भनिन्छ । यसको उद्देश्य गरीब देशहरूका लागि दीर्घकालीन रुपमा खोपको मूल्य घटाउन प्रोत्साहित गर्नु थियो । यसको सुरूवात भएदेखि १३ करोड बच्चाहरुलाई खोप दिन सकियो ।
संसारलाई संक्रामक रोगहरूबाट जोगाउनको लागि हामीलाई नयाँ भाइरसहरूको अनुगमन गर्न संयन्त्र चाहिन्छ र सबैभन्दा खतरनाक संक्रमणहरूको विरूद्ध खोपहरू छिटो विकास गर्न आवश्यक छ। २०१४/१५ को विनाशकारी इबोला भाइरस संसार महामारीको सामना गर्न कत्तिको सक्षम छ भनेर चेतावनी दिने जनाउ घण्टी थियो । अन्ततः इबोला बिरूद्ध खोप पत्ता त लाग्यो तर हजारौं मानिसहरुको लागी ढिलो भैसकेको थियो, उनीहरुले अनाहकमा जीवन गुमाउन पर्यो ।
यहाँसम्म आइपुग्दा हामी पाँच शताब्दी पहिले गरिएको जोखिमपूर्ण र भयानक खोप बनाउने प्रयास पछिको लामो यात्रा तय गरिसकेका छौ । वैज्ञानिक नवीनता, व्यापक विश्वव्यापी स्वास्थ्य अभियानहरू र नयाँ सार्वजनिक-निजी साझेदारी जीवन बचाउनको लागि आवश्यक रणनीति हो । हाल यो मानव जीवन बचाउने मात्र तरीका हो । नयाँ कोरोना भाइरस विरुद्ध संसारको रक्षा गर्न खोप खोज्नु एक ठूलो चुनौती हो, तर यदि इतिहासको अध्ययनबाट हामीले सिक्न सक्ने एक चीज छ भने, त्यो हो जहिले पनि महामारी बिरूद्धको लडाईमा हामीले बिजय प्राप्त गरेका छौ । यसपाली पनि हामी कोविड-१९ बिरूद्धको लडाईमा विजयी हुनेछौं ।
(पाण्डे अमेरिकामा विद्यावारिधीका शोधार्थी हुन्।) हाम्राकुरा बाट साभार
प्रतिकृया दिनुहोस