भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भारतले तीनवटा काली नदी देखाएर सिमाना चलाउनुलाई विवादको प्रमुख जड मान्छन् । प्रा.डा. खनाल भन्छन्, ‘भारतले पुरानो नक्सा दोहोर्याएको भनिएको छ तर पुरानै नक्सा सुगौली सन्धि विपरीत छ ।’
नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा पाँच अनुसार काली नदी नै नेपालको भारतसँगको पश्चिमी सिमाना हो । सुगौली सन्धि भएको दश वर्षपछि इस्ट इन्डिया कम्पनीले निकालेको नक्सा अनुसार लिम्पियाधुरा मुहान भएकै नदी काली नदी हो ।
सन् १८२७ मा प्रकाशित ‘कुमाउ–गढवाल’ समेत देखिने नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको छ । यसबाट प्रस्ट छ, काली नदी भन्दा पूर्वको गुन्जी, कुटी, गब्र्याङ लगायतका भूभाग नेपालकै हो ।
त्यसको सात वर्षपछि भारतले प्रकाशित गरेको अर्को नक्सामा पनि काली नदीको मुहान प्रस्ट देख्न सकिन्छ । सन् १८३५ मा इन्डिया एक्सआईआई इन्डेक्स म्यापले निकालेको नक्सा नेपालको सीमाना पश्चिमतर्फ ढल्केको देखिन्छ ।
सन् १८४६ मा कुमाउ एण्ड ब्रिटीश गडवालद्वारा प्रकाशित नदीमा काली नदीको नाम परिवर्तन गरेको देखिन्छ । कालीलाई वेस्ट काली वा सामा नदी भनिएको छ । नदीको नाम फेर्न खोजिए पनि यो नक्सा अनुसार पनि कालीको मुहान भने लिम्पियाधुरा नै हो ।
सन् १८५१ को नक्साअनुसार गब्र्याङ क्षेत्रमा जम्मा दुई वटा नदी देखिन्छन् । एउटा लिम्पियाधुराबाट आएको काली र लिपुलेकबाट गएको अर्को शारदा अर्थात कावा खोला । हिमालयन माउन्टेन रिभर्सले निकालेको यो नक्सामा नदीको नाम भने उल्लेख छैन ।
ब्रिटिस सर्वे अफ इन्डिया म्यापले सन् १८५६ मा निकालेको नक्सा अनुसार पनि काली नदीको मुहान लिम्पियाधुरा नै हो ।
२४ अप्रिल १८५६ को यो नक्सामा अर्को पनि महत्वपूर्ण कुरा देख्न सकिन्छ । नक्सामा काली नदीको पश्चिममा पनि कालापानी देखिन्छ । काली पारीको कालापानीमा बस्न आएका भारतीय सेना कालीवारी नेपालको भूमिमा बस्न आएको हुन सक्ने कतिपयको विश्लेषण छ ।
सन् १८५७ को नक्सा नेपाल, सिक्किम, भुटान एण्ड तिब्बत नक्साका अनुसार पनि काली नदीको मुहान लिम्पियाधुरा नै हो ।
सन् १८५९ को नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली नदी भनिएको छ ।
नक्सामा नियोजित गडबडी
सुगौली सन्धिमा उल्लेखित काली नदी कुन हो भन्दा भारतले अहिलेसम्म विभिन्न तीनवटा नदीलाई देखाउने गरेको छ । जसमध्ये लिम्पियाधुरा मुहान भएको बाहेक दुईवटा नदी नक्कली काली नदी हो ।
यो पनि पढ्नुहोसभारतीय नक्सामा हेर्नोस् ! कालीनदी कहाँ छ ?
एकछिनलाई भारतले भनेकै ‘नक्कली काली’लाई काली भनेर मान्दा पनि उसले बेइमानी गरेको देखिन्छ । सन्धिमा नदीलाई सीमा मानिएकाले उसले जुनलाई मन लाग्यो त्यसैलाई काली नदी मान्दै आएको छ ।
तर, १८७९ को नक्सामा भने नदी होइन डाँडालाई नक्कली सीमानामा कायम गर्न खोजिएको छ । लिपुलेकबाट ब्यासऋषि हिमालतर्फ सिमाना सारेर नक्सा बनाएको देखिन्छ । (हेर्नुस् लिपुलेकबाट तल डाँडै डाँडा झारेको नक्सा) पछिल्लो पटक देखिएको सीमा विवादको जड पनि यही नै हो ।
त्यति मात्रै होइन, माथिको नक्सामा काली नदीको नाम समेत फेरेर कुटियाङदी लेखिएको छ । जब कि स्थानीय व्यासी र सौका भाषामा कुटि भनेको काली र याङदी भनेको नदी हो । अर्थात कुटियाङदी भन्नुको अर्थ पनि काली नदी नै हो ।
माथिको नक्सामा लिपु खोलालाई नक्कली नाम दिएर काली नदी बनाइएको छ । र, सुगौली सन्धिले प्रष्टरुपमा दुई देशको सीमा भनेर उल्लेख गरेको काली नदीलाई भारतभित्र पारिएको छ ।
सन् १९६७ मा बेलायतले निकालेको नक्सामा कालापानी स्पष्ट रुपमा नेपाल भित्रै देखिन्छ ।
लिपुखोला किनारमा भारतले सात वटा क्याम्प राखेको देखिन्छ । जसमध्ये तीनवटा (नक्सामा ५, ६ र ७) नेपालको भूमिमा राखिएका छन् । क्याम्प १, २, ३ र ४ भने लिपुखोला पारी देखिन्छ । ती चारवटा क्याम्प लिम्पियाधुराविनाको नेपालको नक्सा अनुसार भारततिर परेको देखिन्छ ।
सर्वे अफ इन्डियाले भर्खरै निकालेको नक्सामा लिपु खोला भन्दा यताको भूभाग भारतमा पारिएको छ । उसले कालापानी क्षेत्रको तुरतुरे धारालाई नक्कली काली नदीका रुपमा व्याख्या गर्ने गरेको छ ।
भारतले पश्चिम नेपालको सिमाना कसरी बंग्यायो भन्ने सन् १८३५ र २०१९ मा प्रकाशित यो नक्सामा हेर्दा प्रस्ट हुन्छ ।
सुगौली सन्धिपछि नेपालले काली नदी पश्चिम कुमाउँ, गढवाल तथा सतलज नदीको पश्चिम कांगडा, र तराईको ठूलो भाग सहित एक तिहाई भूभाग गुमायो । त्यसपछिको तीन कालखण्डको पश्चिमी सीमा माथिको नक्सामा देख्न सकिन्छ ।
सन् १८१६–१८५० सम्मको लिम्पियाधुरा सहितको सिमाना, १८५०–१८७९ सम्मको कालापानी सहितको सिमाना र त्यसयताको कालापानी विनाको सिमाना ।
सुगौली सन्धिलाई मान्ने कि नमान्ने ?
सबै नक्साहरू हेर्दा भन्न सकिन्छ, सुगौली सन्धिमा उल्लेख भएको काली नदीको मुहान लिम्पियाधुरा नै हो । गुन्जी, कुटी, गब्र्याङमा २०१८ सालमा पनि नेपालले जनगणना गरेको, जग्गाको तिरो तिरेको, राष्ट्रिय पञ्चायत चुनावमा भाग लिएको जस्ता प्रमाणहरूले पनि सीमा कुटियाङदी भनिने काली नदी हो भन्ने प्रस्ट छ ।
यो पनि पढ्नुहोससुगौली सन्धिको २ सय वर्षपछि बिउँझिँदा लिम्पियाधुरा गायब
भारतले काली नदीको नाम तीनपटक परिवर्तन गरेको छ । शुरुमा लिम्पियाधुराबाट आएको वास्तविक काली नदी, दोस्रो लिपुपासबाट आएको लिपुखोला र तेस्रो कालापानीमाथि एउटा मन्दिर बनाएर त्यहाँबाट बग्ने तुरतुरे पानीलाई भनिएको काली नदी ।
भारतले बनाएको सन् १८७९ को नक्सामा त्यो तुरतुरे पानी बग्ने काली भन्दा पनि यता च्यापेर ब्यास हिमालसम्म नक्सा बनाएको देखिन्छ । सर्बे अफ इन्डियाले अहिले जारी गरेको नक्सामा पनि काली नदी भनेको लिम्पियाधुराबाटै बग्ने नदी हो भन्ने प्रस्ष्ट देखिन्छ । काली नदी कुन हो भन्नेमा थाहा भएर वा नभएर उनीहरू पनि अस्पष्ट देखिन्छ । तर, तीन–तीन पटक फरक–फरक सिमानामा प्रयोग गरेको देखिन्छ ।
लिपुखोला दोभानदेखि लिपुलेक भारतीय सेनाका सात क्याम्प राखेको देखिन्छ । त्यसमध्ये कालापानीमा राखेको क्याम्प नेपाली भूमिमै छन् । पारिबाट बाटो खन्न गाह्रो भएपछि उनीहरूले पुल बनाएर नेपालतर्फ आएको हो कि जस्तो देखिन्छ ।
भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल ।
भारत–चीन युद्धका बेलामा उनीहरूले अस्थायी रुपमा प्रयोग गर्न खोजेको हो कि जस्तो देखिन्छ । कतिपयले राजा महेन्द्रले त्यहाँ अस्थायी रुपमा बस्न दिएको बताउँछन् । पछि हटाउन सकेन । आधिकारिक रुपमा भने बस्न दिएको वा नदिएको भन्ने केही खुलेको छैन ।
तर, नेपालको आधिकारिक नक्सा हेर्दा लिपुखोला पूर्वका सम्पूर्ण भूभाग नेपालकै देखिन्छ । त्यसमा विवाद गरिरहनु आवश्यक देखिन्न । अस्थायीरुपमा बसेको क्याम्पबाट भारतीय सेना नहटेकाले समस्या देखिएको हो ।
लिपुखोला पूर्वको क्षेत्र पनि आफ्नो भूमि हुन्थ्यो भने त लिपुपास जानेबाटो पूर्वबाटै लैजान्थ्यो होला । कालापानीमा पूर्व ल्याएर बाँकी लामो बाटो पारिबाटै लगेको छ । अर्थात उसले काली नदी भन्ने गरेको लिपुखोलालाई नै काली एकछिनलाई काली मान्दा पनि त्यो खोला भन्दा पूर्व उसको भूभाग हुँदै होइन । सम्पूर्ण कालापानी क्षेत्र नेपालकै हो ।
त्यति मात्रै होइन, सुगौली सन्धि अनुसार गुन्जी, नावी र कुटी पनि नेपाल हो । सन्धि मान्ने हो भने ब्यास ऋषिको डाँडैडाँडा सीमा कोरेर हुँदैन । भारतले यो सन्धि मान्दैन भने टिस्टादेखि काँगडासम्म नेपालकै हुन्छ ।
प्रतिकृया दिनुहोस