जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको अगाडि रहेको एउटा पसलमा सटर फुटाएर चोरी गर्ने चोरको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहान करिब साढे ३ बजे जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेको चोरलाई गोली हानेर प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर १ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला वैरगनीया वडा नम्बर ७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम वडा नम्बर ४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन रहेका प्रहरी स्रोतले जनाएको छ ।
ग्रामिण क्षेत्रमा गस्ती गरी जिल्ला प्रहरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले डाकालाई समातेको छ। बिहान करिब साढे ३ बजे भानु चौक र शिबचौक को बिचमा रहेको सटर दुई फिटजति उठेको र भित्र बत्ती बलिरहेको देखेपछि प्रहरीले गाडी रोकेका थिए ।
मान्छे आएको थाहा पाउने बित्तिकै सटरभित्रबाट चार जना निस्केर दुई जना शिव चोकतर्फ र दुई जना भानु चोकतर्फ भागेका थियो । प्रहरीले लखेट्न सुरु गरेपछि दुई जना जनकपुर उद्योग वाणिज्य संघको कार्यालयतर्फ भागे । उक्त कार्यालयको मोडमा पुगेपछि एउटाले प्रहरीलाई पेस्तोलले ताकेपछि प्रहरीले गोली चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय र क्राइम ब्रान्चका कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेका छन् । प्रहरीलाई नै पेस्तोलले ताकेपछि सुरुमा एक राउण्ड हवाइ फायर गरें । फेरी डाकाले निशाना बनाउन थालेको देखेपछि प्रहरीले तीन राउन्ड गोली चलाएका छन् ।
सबै गोली ती चोरको घुँडा आसपासमा लागेका छन् । त्यसतर्फ भाग्ने गोली लागेर घाइते भएका विनोद सिंहसमेत दुई जनालाई त्यही पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस