असोजको अन्तिममा ठुलो संख्यामा सरकारी कर्मचारीको लागि विज्ञापन आउदै

Yugnepal     965 पटक पढिएको    

असोजको अन्तिममा ठुलो संख्यामा सरकारी कर्मचारीको लागि विज्ञापन आउदै

काठमाडौं। लोकसेवा आयोगले असोज महिनाको अन्तिम बुधबारदेखि केन्द्रकोलागि करिब ५ हजार नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन आब्हान गर्ने भएको छ। यसकोलागि आयोगले सबै तयारी पूरा गरेको जनाएको छ। आयोग स्रोतका अनुसार असोजको अन्तिम बुधबार सहसचिव र उपसचिवकोलागि विज्ञापन गरिने भएको छ। यो संख्या करिब ३ सयको हाराहारीमा हुने छ। त्यसपछि शाखा अधिकृत र नायव सुब्बा तहकोलागि विज्ञापन निकालिने भएको छ। नायब सुब्बा पछि खरिदार तहमा पनि भर्ना आब्हान गरिने भएको छ।

यसपटक सहसचिव देखि खरिदार तहसम्मको लागि विज्ञापन निकाल्ने तयारी भएको आयोगले जनाएको छ। आयोगले यसपटक निजामती कर्मचारी ऐन २०४९ अनुसार विज्ञापन निकाल्ने भएको छ। निजामती कर्मचारी ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन २०७५ हाल संसद्को राज्य व्यवस्था समितिको बैठकमा विचाराधिन अवस्थामा छ। संघीय निजामती सेवा ऐन नआउँदासम्म आयोगले निजामती सेवा ऐन २०४९ अनुसार नयाँ भर्ना  आब्हान गर्न लागेको हो।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवपदमा खुला प्रतिष्पर्धा गर्ने कि नगर्ने भन्नेमा टुंगो लागेको छैन। तर आयोगले असोजको अन्तिम बुधबार निकाल्न लागेको विज्ञापन निजामती सेवा ऐन २०४९ अनुसार सहसचिव र उपसचिवकोलागि १० प्रतिशत कोटामा खुला आब्हान  गर्ने भएको छ। जस अनुसार ४५ वर्ष नपुगेका नेपाली नागरिकले उपसचिव र सहसचिवकोलागि प्रतिष्पर्धा गर्न पाउने छन्। निजामती सेवामा प्रवेश नगरेको नेपाली नागरिकले पनि यो अवसर पाउने छन्। 

तर विचाराधिन प्रशासन कानुनमा १० प्रतिशत खुला प्रतिष्पर्धा गर्ने व्यवस्था खारेज गर्ने कि नगर्नेमा राज्य व्यवस्था समितिका सांसदहरु नै विभाजित छन्। उपसचिव पदमा खुला बिज्ञापनको व्यवस्था राखी सहसचिव पदमा खुला विज्ञापनको व्यवस्था हटाउने बिषयमा समितिको बैठकमा टुंगो लागेको राज्य व्यवस्था समितिको एक सांसदको भनाइ छ।

यता, संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव,शाखा अधिकृत, नायबसुब्बा लगायतका सबै पदकोलागि माग विवरण आयोगमा पठाइसकेको छ। मन्त्रालयका अनुसार संघकोलागि तत्काल करिव ५ हजार पद रिक्त छन्। संघकोलागि आयोगले तीन वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिए पछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो। तीन वर्ष देखि नयाँ भर्ना रोकिए पछि संघमा ठूलो संख्यामा पद रिक्त भएका हुन्। 

मन्त्रालय स्रोतका मन्त्रालयले आयोगलाई पठाएको सूचीमा प्राविधिक लगायत लेखा, इञ्जिनियरिङ, परराष्ट्र लगायतका सेवामा पनि विवरण पठाएको छ। त्यस अनुसार आयोगले यी सबै सेवाकालागि कर्मचारी माग गर्ने भएको छ। यी सेवामा मागिने पदहरु  खरिदार देखि सहसचिव सम्मका हुने छन्। स्रोतका अनुसार विशेषगरी माथिल्लो तहका पदहरुभन्दा  तल्लो तहका पदहरू खरिदार र नायव सुब्बा तहका पदहरूमा रिक्त दरबन्दी बढी छन्।

मन्त्रालयले संघ,प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारकोलागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको  जनाएको छ। मन्त्रालयका अनुसार संघमा स्वीकृत भएको ४८ हजार ४सय ९ दरबन्दी मध्ये ३९ हजार ९ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ।

आयोगले गत असारमा मात्र स्थानीय तहकोलागि ९ हजार १ सय ६१  दरवन्दीमा कर्मचारी भर्ना आब्हान गरेको थियो। यी पदहरुमा आयोगले हाल भर्ना प्रक्रिया अघि बढाएको छ। दुई महिनाभित्र खाली रहेका स्थानीय तहमा नयाँ कर्मचारी पठाउने आयोगले जनाएको छ। आयोगले स्थानीय तहमा गरिएको भर्ना  प्रक्रिया निकै विवादस्पद बनेको थियो। तर यसपटक  केन्द्रमा गरिने विज्ञापनमा निजामती सेवा ऐन अनुसार समावेशी कोटा छुट्टयाइने आयोगले जनाएको छ।



बिहिबार ०९, असोज २०७६ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal