काठमाडौं । फिफाबाट ‘द बेष्ट’ अवार्ड जितेको भोलिपल्टै अर्जेन्टाइन एवं स्पेनिश फुटबल क्लब बार्सिलोनाका महत्वपूर्ण फरवार्ड खेलाडी लियोनल मेस्सीले चोट बोकेका छन् ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियललाई २–१ गोल अन्तरले हराउने क्रममा मेस्सीले चोट बोकेका हुन् ।
यसअघि लिग सुरु हुँदा पनि उनी पिँडुलाको चोटका कारण खेल्न पाएका थिएनन् । मंगलबार रातिको खेलमा उनी तिघ्राको समस्याले गर्दा मैदानबाट बाहिरिनु पर्यो ।
मैदान छिरेपछि भने मेस्सीले स्पेनिश लिगमा चार सय खेल खेलेको कीर्तिमान रच्न सफल भए ।
मेस्सीले खेलमा गोल गर्न नसके पनि उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले छैटौं मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
अर्तुर भिडालले १५ औं मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाए । सान्ति क्याजोलाले ४४ औं मिनेटमा भिल्लारियलका लागि गोल गर्दै अन्तर कम गरे ।
दोस्रो हाफमा भने दुवै पक्षले गोल गरेनन् ।
मंगलबार रातिका अन्य खेलको नतिजा
रियाल भल्लाडोलिड १–१ ग्रानाडा
रियाल बेटिस ३–१ लेभान्ते
अंक तालिका
६ खेलबाट ११ अंकसहित ग्रानाडा शीर्ष स्थानमा छ । ५ खेलबाट ११ अंकको एथलेटिक बिलबाओ दोस्रो स्थानमा छ ।
५ खेलबाट ११ अंककै रियाल मड्रिड तेस्रो स्थानमा छ । ६ खेलबाट १० अंकको बार्सिलोना चौथो स्थानमा पुगेको छ । रियाल सोसिडाड र एथलेटिको मड्रिडको ५ खेलबाट १० अंक छ ।
प्रतिकृया दिनुहोस