चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।
विकज तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका छोरा हुन् । सवारी साधन पनि ईश्वरकै भएको बताइएको छ । मृतक गाउँपालिका अध्यक्षका नातामा भतिज पर्ने बताइएको छ ।
घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार बिहीबार राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो ।
अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए ।
प्रतिकृया दिनुहोस